पर्यटकको पहिलो रोजाइ बन्यो ‘तालपोखरा’

४ बर्ष अगाडि

रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने कमै हुन्छन् । यहाँ आएका पर्यटकको पहिलो रोजाइ र घुम्ने थलोनै अहिले तालपोखरा बनेको छ । फेवातालको स्वरुपमा रहेको तालपोखराले आकारमा सानो भएपनि छोटो समयमा नै पर्यटकको मन लोभ्याउन सफल भएको छ ।
      
विभिन्न सञ्चारमाध्यममा आएका समाचार सुनेर, हेरेर तालपोखरा आउने आन्तरिक पर्यटकको उपस्थिति दिनहुँ बढ्दै गएको छ । बुटवलबाट गल्याङसम्मको यात्रामा निस्कनुभएका सुदीप भण्डारीलाई पनि एकपटक तालपोखरा नघुमिकन आफ्नो गन्तव्यमा फर्कन मन भएन । तालपोखरामा डुङ्गामा सयर गर्दा फेवातालको अनुभूति भएको उनले बताए ।
     
“तालपोखराका बारेमा चर्चा हुन थालेपछि एकपटक नआइकन मनले मानेन, तालपोखरा क्षेत्र घुम्दा अति सुन्दर लाग्यो, रामपुर क्षेत्रको पर्यटन विकासको दरिलो खम्बा बन्नेछ”, उनले भने ।
     
आन्तरिक पर्यटकको अलावा बाह्य पर्यटकलाई पनि भित्र्याउने व्यवस्था गर्नसके आर्थिक समृद्धिमा पनि टेवा पुग्ने उनको भनाइ छ । दशैँपर्व शुरु भएदेखि तालपोखरा घुम्नेको चहलपहल बढ्दो छ । 
चाडपर्वको समय भएकाले अहिले दैनिक ४०० को हाराहारीमा डुङ्गा चढ्ने गरेको डुङ्गा चालक भगवान् देवकोटाले बताउनुभयो ।
     
“दशैँतिहार पर्वको समय भएकाले अन्य समयभन्दा तेब्बर बढी पर्यटक भित्रिएका छन्, हामीलाई पनि काम पुगेकै छ”, उहाँले भन्नुभयो । तीन महीनासम्म तालको पानी सुकाएर मर्मत तथा सम्भार गरेपछि तालपोखराको सौन्दर्य नै फरक देखिएको छ ।
     
तालपोखरा परिसरको ५५० मिटर घेराबार, तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर परिसरमा २०५ मिटर फलामे बार र मन्दिर परिसरमा दुई वटा पार्क निर्माण गरिएको छ ।
     
रामपुर नगरपालिकाले रु २० लाख र नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा रु २० लाख सहयोग रकमबाट तालपोखराको स्तरोन्नति गरिएको हो । करीब रु ४५ लाख बराबरको मर्मत कार्य सम्पन्न भएको छ भने अब बाँकी अझै रु एक करोड २५ लाखको काम रहेको समितिले जनाएको छ । अहिलेसम्म तालपोखराको पर्यटन विकासमा करीब तीन करोडको काम भइसकेको छ ।
     
तालपोखरालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै जाँदा यसले रामपुर नगरपालिका मात्र नभई कालीगण्डकी वेंशी क्षेत्रकै पहिचान बढाएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयए ।
      
“असोज शुरु भएपछि पर्यटक बढेका छन्, नियमितरुपमा बिहान दिउँसोभरि दुई वटा डुङ्गा चलिरहेको छ”, उहानले भने । प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ । तालपोखरा वरपर डुङ्गामा घुम्ने, तालको बीच भागमा रहेको जलेश्वर महादेवको मन्दिर दर्शन गरेर फर्कने गरेको पाइन्छ । कोही घण्टौँसम्म मन्दिर परिसरमा रहेको पार्कमा रमाएर फर्कने गर्छन् ।

तालपोखरामा सेल्फी जोन निर्माण गरिएपछि फोटो खिचाउनेको भीड लाग्ने गरेको छ । स्थानीय कुलो, नहर, खोल्सीबाट पानी पर्याप्त नभएपछि नजिकै बहेको कालीगण्डकीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गरिएको छ । डुङ्गा सञ्चालनबाट स्थानीयलाई रोजगारीको अवसर मिलेको छ ।
       
दैनिक डुङ्गाबाट सरदरमा पाँच हजार आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर डुङ्गाबाट मासिक रु एक लाख ३५ हजार आम्दानी भइरहेको छ । अघिल्ला वर्षका तुलनामा यो वर्ष आम्दानी बढ्नसक्ने तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउछन्।
     
सामान्य वर्षाद्को पानी जम्मा हुने खाडलका रुपमा रहेको तालपोखरालाई यहाँका स्थानीयले पर्यटकीय क्षेत्रका रुपमा विकास गरेका हुन् । 

झण्डै ७० रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र पहिला पानी जम्मा हुने खाडका रुपमा रहेपनि अहिले भने प्रशस्त आम्दानी गर्ने गतिलो माध्यम बनेको छ । महायज्ञबाट केही आम्दानी सङ्कलन गरी विसं २०६६ बाट पर्यटन विकासका काम थालनी गरिएको संस्थापक अध्यक्ष देवराज देवकोटा बताउछन् । पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका आन्तरिक पर्यटक यहाँ अवलोकन गरेर फर्कने गरेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया