उपनिर्वाचनमा उम्मेदवार बन्न चाहानेको ताती

४ बर्ष अगाडि

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका उम्मेदवारका आकांक्षी पनि बढ्न थालेपछि चुनावी सरगर्मी बढेको छ ।

प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ चाँगुनारायण प्रदेश ‘क’ बाट विजयी तत्कालीन एमालेका उम्मेदवार हरिशरण लामिछानेको मस्तिष्कघातका कारण मृत्यु भएपछि सो स्थानमा पुनः निर्वाचन हुने भएको छ । उक्त स्थानका लागि निर्वाचनको मिति तोकिएसँगै राजनीतिक दलहरुमा उम्मेदवारका लागि व्यापक छलफलसमेत शुरु भएको छ । 

यस क्षेत्रमा नेकपा र नेपाली काङ्ग्रेसमा उम्मेदवारका आकांक्षीहरु बढेका छन् भने नेपाल मजदूर किसान पार्टीले निर्वाचनका बारेमा हालसम्म कुनै चर्चा चलाएका छ्रैनन् । आगामी निर्वाचनमा नेकपाबाट रमेश बुढाथोकी, निरञ्जन बजगाई, मोहनवीर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, श्रीभक्त कासीछ्वा, शम्भु दाहाल, दामोदर दङ्गाल, निर्मला लामिछाने, कृष्णमुरारी खनाल र देवीप्रसाद (डिपी) ढकाल टिकट ल्याउने दौडधुपमा लागेका छन्। 

बुढाथोकी, बजगाई, कासिछवा, दङ्गाल व्यवसायी हुन् भने लामिछाने हरिशरण लामिछानेका पत्नी हुन् । त्यस्तै दाहाल र खनाल कानून व्यवसायी एवं चाँगुनारायण नगरपालिकाका कानूनी सल्लाहाकार समेत हुन भने ढकाल पूर्वमाओवादीका नेता हुन् । नेकपाभित्र १० जनाले उम्मेदवारी दाबी गरिरहँदा ढकाल पूर्वमाओवादी र अन्य नौ जना पूर्व एमालेका हुन् । 

आगामी निर्वाचनमा नेकपाबाट आफ्नो उम्मेदवारी रहने सञ्चारकर्मीलाई जानकारी गराउँदै यी आकांक्षी नेताले टिकट लिनका लागि शक्ति केन्द्र एवं पहुँचवाला नेताहरु कहाँ धाउन थालेका छन् । लामिछानेले पतिको शोकलाई शक्तिमा बदल्न उम्मेदवारी दाबी गर्नुभएको छ भने मोहनवीर श्रेष्ठले पार्टीले पुरानालाई मौका दिनुपर्ने बताउँदै आउनुभएको छ । बुढाथोकी तथा बजगाईले भने युवालाई अबको नेतृत्व दिनुपर्ने बताउँदै आएका छन्। 

यता काङ्ग्रेसमा पनि पुराना तथा नयाँ नेताहरुले पार्टीले आफूलाई टिकट दिने दाबी गर्ने आकांक्षीहरु बढेका छन् । काङ्ग्रेसका राजनीतिमा लामो समय सक्रिय रहेको तर अवसर नपाएको भन्दै तरुण दलका पूर्वअध्यक्षसमेत रहनुभएका विनोद कायस्थले यसपटकको उपनिर्वाचनमा पार्टीले आफूलाई टिकट दिनेमा विश्वास व्यक्त गर्दै चुनावी रणनीतिमा लागिसकेको बताउनुभयो । उहाँले चुनावमा पार्टीलाई विजयी गराउन आफू आवश्यक तयारीका साथ चुनावी क्षेत्रमा कार्यकर्तासँग भेटघाट बढाएको बताए ।

काङ्ग्रेसमा पहिलो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट नारायणमान बिजुक्छेसँग चुनाव लडेका कृष्णलाल भडेलले पनि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ भने यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेश सदस्यमै उम्मेदवारी दिनुभएका जीवन खत्रीले पनि पुनः उम्मेदवारी दाबी गरेका छन् ।

त्यसैगरी काङ्ग्रेसबाट मनोजकुमार थापा, हरि नेपाल, जगन्नाथ कार्की, राजाराम खड्का, सुरेश श्रेष्ठ, यादव अधिकारी, किरण न्यौपानेले पनि उम्मेदवारी दाबी गर्नुभएको छ । भडेल र खड्का व्यवसायी हुन् भने मनोजकुमार थापा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति एवं रेडक्रस केन्द्रीय सदस्य समेत छन् । न्यौपाने भने कानून व्यवसायी हुन् । 

यता राप्रपा संयुक्तबाट रवीन्द्रप्रताप शाह, रामशरण लामिछानेले उम्मेदवारी दाबी गर्नुभएको छ भने राप्रपाबाट माधव खत्री, उत्तम बाटी, राममणि न्यौपानेले उम्मेदवारी दाबी गर्नुभएको छ ।  विवेकशील साझाबाट कालिचरण कार्की र सुरज प्रधानले दाबेदारी गर्दै आएको छ । 

सबैको चासो रहेको नेमकिपाबाट भने कसैको नाम सार्वजनिक भएको छैन भने पार्टीको आधिकारिक निर्णय नभई कोही पनि आकांक्षीको नाम सार्वजनिक नगर्ने पार्टीले जानकारी दिएको छ । निर्वाचन नजिकिँदै आए पनि नेकपा, काङ्ग्रेस, नेमकिपा भने निर्वाचनको रणनीतिक योजनामा लागेको छ । नेकपा जिल्ला अध्यक्ष वचन देउजाले आफ्नो स्थान सुरक्षित राख्ने रणनीतिक योजनामा लागेको बताए  । 

काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनमा कसरी जित हासिल गर्ने भन्नेबारेमा छलफल शुरु गरेको बताउनुभयो । नेमकिपाले पनि आन्तरिक तयारी थालेको बताइएको छ । पार्टीहरुमा आन्तरिक तयारी थालेपछि र उम्मेदवारका आकांक्षीहरु बढेसँगै निर्वाचन हुने क्षेत्रमा चुनावी माहोलसमेत बढेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया