जब मोदीका पीएचडीधारी मन्त्रीले डार्विनको सिद्धान्तलाई गलत भने

५ बर्ष अगाडि


भारतको केन्द्रिय मन्त्री सत्यपाल सिंहले शनिवार पुनः मानवको क्रमिक विकासबारे चाल्र्स डार्विनको सिद्धान्त वैज्ञानिक रुपमा गलत भएको दावी गरे । मन्त्री आफू विज्ञानको विद्यार्थी भएको हिसाबमा आफ्नो पूर्वज बादर नभएको भन्न सक्ने बताए ।
सिंह नरेन्द्र मोदीको सरकारमा मानव संसाधन विकास मन्त्रलायमा राज्य मन्त्री रहेका छन् । अझ रमाइलो कुरा उनलाई उक्त मन्त्रालयको उच्च शिक्षा हेर्ने जिम्मा दिइएको छ । 
सिंहले भने ,“म विज्ञानको विद्यार्थी हुँ र मैले रसायन शास्त्रमा पीएचडी गरेको छु । मेरो विरुद्ध बोल्ने मानिसहरु को थिए ? कति मानिसहरु मेरो पक्षमा साथ दिए ? हामीले यसमा मन्थन गर्नुपर्छ । हामी प्रेससँग डराउछौं । आज होइन भने भोलि , भोलि भएन भने १०–२० वर्षमा मानिसहरु मैले भनेको कुरा स्वीकार गर्नेछन् । कम से कम मेरो विश्वासमा मेरो पूर्वज बादर थिएनन् ।”
एनडीटीभी अनुसार सिंहले रसायनशास्त्रमा एमफिलसम्मको अध्ययन गरेको भए पनि पीएचडी भने उनले ‘नक्सलवाद’ मा अर्थात मानविकी विषयबाट गरेका हुन् ।
केन्द्रीय मन्त्रीले भने ,“कुुनै अन्य व्यक्तिको दृष्टिकोणलाई निन्दा गर्नु वैज्ञानिक भावना होइन । यसबारेमा विचार गर्नु पर्छ ।”
मुम्बई प्रहरी आयुक्त रहिसकेका सिंहले केही महिना पहिले मानवको क्रमिक विकासको चाल्स डार्विनको सिद्धान्तलाई गलत बताएका थिए । साथै उनले स्कुल र कलेजको पाठ्यक्रममा यसलाई परिवर्तन गर्नु पर्ने बताएका थिए । उक्त समय सिंहको यस भनाईको विभिन्न वर्गबाट आलोचना भएको थिए ।
सिंहले आफूलाई शिक्षित नेता भएकोमा गर्भ रहेको बताउँदै राष्ट्रवादी मानसिकता भएको राष्ट्रवादी सरकार शासनमा हुनु देशको लागि सौभाग्यको विषय भएको पनि बताए ।
उनले विदेशका ९९% विश्वविद्यालयहरुले हिन्दू धर्मको गलत व्याख्या गर्ने गरेको साथै हिन्दु ग्रन्थको गलत अनुवाद गर्ने गरेको पाएको पनि बताए ।
सिंहले भने ,“म एक किताब लेखिरहेको छु । यसमा यसबारेमा एक अध्याय हुनेछ । यसका लागि हामी कुनै पश्चिमी देशका व्यक्तिहरुसँग मद्दत लिदैनौं । हामी प्रमाणहरु दिनेछौं र हामी जे भनिरहेका छौं त्यो सहि भएको साबित गर्नेछौं । के हाम्रा कुनै साधु सन्तले बेलायतको कुनै प्रद्यापकहरुलाई आफ्नो कुरा सहि साबित गर्न भनेका थिए ?”
उनले अङ्ग्रेजहरुले लागु गरेको शैक्षिक प्रणाली र मानसिकताको पालना गरिरहनु भारतको सबैभन्दा ठूलो गल्ति भएको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया