भारतले रोक लगाएपछि चीनबाट आयो २ लाख ३८ हजार किलो प्याज

४ बर्ष अगाडि

भारतले रोक लगाएपछि चीनतर्फबाट एक महिनामा २ सय ३८ टन प्याज भित्रिएको छ । 

चीनसँगको व्यापारिक नाका रसुवागढीबाट गत असोजमा मात्रै २ लाख ३८ हजार ५ सय ८० किलो प्याज भित्रीएको हो । 

भारतले आफूकहाँ उत्पादन भएको प्याज निर्यातमा रोक लगाएपछि नेपाली व्यापारीले चीनबाट प्याज आयात गरेका हुन् । 

एक महिनामा १ करोड २२ लाख ५१ हजार ९ सय ३० रुपैयाँ मूल्य बराबरको प्याज आयात भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । 

चालु आर्थिक वर्षमा पहिलो पटक यो नाकाबाट यति धेरै प्याज आयात भएको उनको भनाइ छ । 

नेपालमा मागअनुसार प्याज उत्पादन हुन नसक्दा वर्षेनी करोडौ मूल्यको प्याज आयात गर्नुपर्ने बाध्यता छ ।  गतवर्षमात्रै  भारत र चीनबाट १६ करोड ७९ लाख केजी प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ ।

रसुवागढीलाई २०७४ भदौ १४ मा अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी–व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।

उक्त नाकाबाट स्याउ, नास्पाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, ड्राई मसरुम, बोडी, धानको बीउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिन टी र सुकेको बयर आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ । 

तर चीनतर्फ कृषिजन्य सामग्री निर्यात भने हुन सकेको छैन । 

४ बर्ष अगाडि

प्रतिक्रिया