म्यानमारबाटै राष्ट्रपति भण्डारी जापान जाने

४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ । 

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमारको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्नुहुने उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिनु हुनेछ । उक्त समारोहपछि उहाँ सम्राट नारुहितोले आयोजना गर्नुहुने राजकीय भोजमा सरिक हुनु हुनेछ । 

भ्रमणका अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्नु हुनेछ । राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्नुहुने स्वागत समारोहमा भाग लिनु हुनेछ । यसैगरी उहाँले जापानस्थित गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि भाग लिनु हुनेछ । 

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपतिका कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्चस्तरीय अधिकारीहरु रहनु हुनेछ । राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्कनु हुने कार्यक्रम तय भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया