भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको अव्यवस्थित घरजग्गा दर्ता गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दीमा रहेको अव्यस्थित घरजग्गा दर्ताका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको हो ।
मन्त्रालयले तनहुँ जिल्लावि साक दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी हाल शुक्लागण्डकी नगरपालिकाअन्तर्गत बसोबास गरेका अव्यवस्थित बसोबासीका नाउँमा जग्गा दर्ता गर्ने समितिको कार्यालय स्थापना गरी वर्षौंदेखि लालपूर्जाविहीन रहेका स्थानीयवासीलाई लालपूर्जा दिन काम शुरु गरेको छ ।
नेपाल राजपत्रमा प्रकाशित भएअनुसार गठित समितिको २०७६ असोज ७ को निर्णयमा दफा ८ बमोजिम समितिको कार्यक्षेत्र विभाजन गरी घरजग्गा दर्ता गर्न निवेदन माग गरिएको कार्यालयका सदस्य–सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए ।
समितिले शुक्लागण्डकी नगरपालिकाको साविक दुलेगौडा गाविसको वडा नं ७, ८ र ९ र साविक ढोरफिर्दी गाविस वडा नं ३ का अव्यवस्थित बसोवासीलाई ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन आग्रह गरेको छ ।
केही समय अगाडि शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका स्थानीयवासीसँगको भेटघाटमा क्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नै लालपूर्जा दिलाउने प्रतिबद्धता जनाइन। मन्त्री अर्यालको भनाइले लालपूर्जाविहीन अवस्थामा रहेका स्थानीयवासी लालपूर्जा पाउनेमा विश्वस्त रहेको र समितिको कार्यालयले काम शुरु गरेपछि झन उत्साहित भएको स्थानीयवासी दीपेन्द्र केसीले बताए।
यस क्षेत्रका करीब एक हजार घरधुरी बासिन्दा लामो समयदेखि लालपूर्जाविहीन अवस्थामा रहेका छन् । विसं २०११ देखि जग्गा दर्ता नहुँदा उनीहरु लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०५६ मा दर्ता प्रक्रियामा रहेका उक्त जग्गा आम निर्वाचनलाई प्रभावित पार्ने भन्दै रोक्का गरिएपछि यहाँका स्थानीयवासीले लालपूर्जा पाउन सकेको छैनन् । जग्गा दर्ताका लागि यहाँका स्थानीयवासीले विगतमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न दलका नेता लगायतको पनि ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया