नाैं महिनापछि शुरू भयो मेलम्ची, १५ महिनामा सबै काम सकिने

४ बर्ष अगाडि

महिनासम्म रोकिएको  मेलम्ची खानेपानी आयोजनाको काम फेरी शुरु भएको छ । 

इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले गत पुसमा ठेक्का सम्झौता तोडेपछि रोकिएको काम नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेपछि शुरु भएको हो । 

सम्झौता अनुसार सिनो हाइड्रोले सुरुङको बाँकी काम १२ महिनाभित्र र हेडवर्क्सको निर्माण १५ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ । 

केही दिनअघिमात्रै सिनो हाइड्रो र मेलम्ची खानेपानी आयोजनाबीच ठेक्का सम्झौता भएको थियो । 

‘अब सम्झौता भएको मितिले १५ महिनाभित्र सबै काम सम्पन्न हुन्छ’ आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने । 

हेडवर्क्सको काम सम्पन्न नहुञ्जेल अस्थायी हेडवर्क्सबाटै मेलम्चीबाट सुन्दरीजलमा पानी ल्याएर राजधानीमा वितरण थालिसक्ने आयोजनाको लक्ष छ । 

आयोजना निर्माण गर्ने पूर्व ठेकेदार कम्पनी सीएमसीले ठेक्का सम्झौता तोडेपछि सरकारले फाष्ट ट्याकबाट काम गर्ने निर्णय गरी ८ वटा ठेक्का सिधै स्थानीय भेन्डरलाई दिएको थियो भने सुरुङ र हेडवर्क्सको ठेक्का आह्वान गरेको थियो । 

हिमाल हाइड्रो र सिनो हाइड्रोबीच भएको प्रतिस्पर्धामा सिनोले सुरुङ र हेडवर्क्स निर्माणको ठेक्का पाएको हो ।

सम्झौताअनुसार सिनो हाइड्रोले ८५ करोड १ लाख लागतमा सुरुङ र १ अर्ब २ करोड ८२ लाख रुपैयाँ लागतमा हेडवर्क्स निर्माण गर्ने छ । २६ किमि सुरुङ खन्ने काम सकिएपनि ५ किलोमिटर सुरुङमा मात्र आरसीसी ढलान भएको छ । 

पूरै सुरुङमा नटबोल्ट हाल्ने र भेन्ट सफ्ट कार्य पनि बाँकी नै छ । सिनोले काम समयसीमा अगावै सकाए १० प्रतिशत बोनस दिने सरकारले बताएको छ । 

 पानी ल्याउनका लागि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र ९ वटा पानीपोखरी निर्माण भइसकेको छ भने पाइप परीक्षण लगायत सरसफाइ काम पनि भइरहेको छ ।

 सुन्दरीजलमा साढे ८ करोड लिटर पानी क्षमताको पानी पोखरी पनि निर्माण भइसकेको छ ।

यसरी समयअगावै काम सम्पन्न गरे सिनोले टनेल सम्मन्न गरेबापत् प्रतिदिन १२ लाख ७५ हजार र हेडवर्क्समा प्रतिदिन १५ लाख रुपैयाँ पाउनेछ । 

मेलम्ची खानेपानी अन्तर्गत टनेल अडिट मार्ग तथा इचोक, थकनी र शिवपुरीमा भेन्टिलेटर, सुरुङभित्र प्लास्टर र ओपन कट इन्टेक निर्माण, ड्राइभर्सन टनेल, अस्थायी बाँध (कभर बाँध) निर्माण, स्थायी बाँध र इन्टेक संरचनासमेत निर्माणको काम बाँकी नै छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया