अर्नाैठो चलन– दाईजोमा दिईन्छ भालु र सर्प...

४ बर्ष अगाडि

 

सिरहा –गाउँघरमा भालुको नाच देखाएर उनको गुजारा चलेको छ । सिरहा सुखिपुर–८ का ३० वर्षीय साविरको परिवारमा १० जना छन् ।

चटक देखाउने पेसा गर्न उनले भालु जंगलबाट समातेर ल्याएका होइनन् । बाजे हथियालाई बिहेमा ससुरालीले दाइजोमा भाले र पोथी भालु दिएका थिए । अहिलेको भालु तिनै जोडीको अन्तिम सन्तान हो ।


विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनत दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन । तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिन्छन् ।

सिरहाको सारस्वर बस्ने हथियाको विवाह भारतको गोरखपुरमा भएको थियो । बजैले दाइजोमा दुईवटा भालु घरमा आफूसँगै भित्र्याएकी थिइन् । ‘त्यही भालु नचाएर बाजेले गुजारा चलाए,’ साविर भन्छन्, ‘त्यही भालेपोथीबाट जन्मिएका बच्चा बाजेले छोरीहरूका बिहेमा दाइजोमा दिए । छोराहरूलाई पनि भालु नै अंश दिए ।’ बाजेको शेषपछि अंशमा पाएको भालुबाट साविरका बुबा अबु मोहम्मद र काका फूल मोहम्मदले पुर्ख्यौली पेसा अँगाल्दै चटक देखाएर गुजारा चलाए ।

अबु मोहम्मदले पनि दिदीहरूका बिहेमा त्यही भालुको बच्चा दाइजो दिए । अबु वृद्ध भएपछि अहिले साविरले बाजेले दाइजोमा पाएको तिनै भालुको २७ औं सन्तानबाट गुजारा चलाउँदै आएका छन् ।

भालुलाई उनी धुथरु भनेर बोलाउँछन् । एकवर्षे धुथरु भाले हो । साविरले ६ महिना तालिम दिएपछि धुथरु नाचमा सिपालु भयो । अहिले त्यसको नाचबाट हुने आम्दानीले साविरको घर चलेको छ । ‘धुथरुले माला जप्ने, चर्खा काट्ने, बच्चा खेलाउने, मातेको मान्छे जसरी हिँड्ने, ब्रेक डान्ससमेत ६ प्रकारका कला प्रस्तुत गर्छ,’ सिरहाको घलेटोलमा भालु नचाइरहेको भेटिएका साविरले भने, ‘कला प्रदर्शन गरेपछि धुथरु आफैं कचौरा बोकेर पैसा थाप्न दर्शकमाझ पुग्छ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया