भारतीय कम्पनीको लापरवाहीः  पाँच वर्ष पहिले सकिनुपर्ने ४० मेगावाटको राहुघाटको बल्ल काम सुरु

५ बर्ष अगाडि

काठमाडौँ । भारतीय ठेकेदार कम्पनीले अलपत्र छाडेको म्याग्दीको रघुगंगा जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ ।

कूल ४० मेगावाट क्षमताको सो आयोजनाको  निर्माण शुरु भएको छ ।  नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजनाको बाँध रहने स्थानसम्म पुग्ने पहुँच सडक निर्माणको काम शुरु भएको हो ।

स्थानीय मौवाफाँटदेखि झीँ र दग्नामको सिमाना बुक्लमा रहने बाँधस्थल जोड्ने सडक निर्माण सुरु भएको छ । रु ६ अर्बमा ठेक्का सम्झौता गरेको भारतीय कम्पनी जेपी एशोसिएट्सले पूर्वाधार निर्माणको काम शुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए ।

आगामी चार महिनाभित्र पाँच किलोमिटर सडक निर्माण गरेर बाँधस्थलसम्म पु¥याउने लक्ष्य रहेको पाण्डेले जानकारी दिनुभयो । २०७४ साल मंसिर ७ गते ठेकेदार कम्पनीसँग भएको सम्झौतालाई ऋण लगानीकर्ता भारतीय एक्जिम बैङ्कले २०७५ साल जेठ ९ गते स्वीकृत गरेपछि कम्पनीले जेठ १० गते नै काम शुरु गर्न पत्राचार गरेको थियो ।

लगत्तै कार्यक्षेत्रमा परिचालन भएर नक्साङ्कन शुरु गरेको ठेकेदारले पूर्वाधार निर्माण शुरु गरेपछि लामो समयदेखि प्रतीक्षा गरिएको रघुगंगा हाइड्रोले गति लिएको छ ।

 सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा इलेक्ट्रिमेकानिक ठेक्काको प्रक्रियासमेत अघि बढेको छ । आगामी ३९ महिनामा आयोजना सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।

 एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणाअनुसार निर्माण हुन लागेको प्रबन्ध सञ्चालक पाण्डेले बताए ।

 आयोजना निर्माणको चरणमा प्रवेश गरेपछि सर्वसाधारण र स्थानीय बासिन्दाले लगानीको अवसर पाउनेछन् ।

इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्र्याक्ट (इपिसी) प्रारुपमा निर्माण आयोजना निर्माण हुन लागेको हो । यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको छ । यसअघि छनौट भएको भारतको आइभिआरसिएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना बनाउन लागिएको हो । आरभिआरसिएलसँग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्का लगाई निर्माण शुरु हुन लागेको हो ।

कार्यतालिका र सम्झौताअनुसार आयोजना सन् २०७० सालमा सकिनुपर्ने थियो । यो आयोजना नदीको बहावमा आधारित छ । यसको सम्भाव्यताको अध्ययन सन् १९९८ मा भई सन् २००८ मा अद्यावधिक गरेको थियो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

आयोजना म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले, झीँ र दग्नाममा पर्छ । झीँ र दग्नामको सिमामा बाँध रहेको आयोजनाको विद्युत् गृह पिप्लेको तिल्केनीचौरमा रहने जनाइएको छ । आइभिआरसिएलले प्रारम्भिक चरणको कामसमेत अघि बढाउन नसकेर अलपत्र पारेको थियो । राहुघाट कालीगण्डकीको सहायक नदी हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया