मुक्त हलिया बस्तीमा बोरिङ

४ बर्ष अगाडि

भीमदत्तनगरपालिका–१ स्थित बाराकुण्डामा पुनःस्थापन गरिएका मुक्त हलिया परिवारलाई टाढाबाट खानेपानी बाकेर ल्याउनुपर्ने झन्झट सकिएको छ ।

दातृ निकायको सहयोगमा गरिएको बोरिङका कारण अहिले उनीहरूलाई  खानेपानीका लागि अन्यत्र भौतारिँदै हिँडनुपर्ने बाध्यता अन्त्य भएको हो । क वर्गको परिचयपत्र पाएका ३५ परिवार मुक्त हलियालाई बाराकुण्डामा पुनःस्थापन गरिएको थियो ।

ती परिवारले घर निर्माण गर्न र खानेपानीको अभाव हुन नदिन टाढाबाट पानी किनेर बोकेर ल्याई प्लाष्टिकको खाल्डोमा जम्मा गरेर राख्ने गर्दै आएका थिए ।

बोरिङका लागि राष्ट्रिय हलिया मुक्ति समाज तथा ह्याविटाट नेपालको साझेदारीमा सञ्चालित हलिया आवास परियोजनाअन्तर्गत रु तीन लाख र भीमदत्त नगरपालिकाबाट   रु दुई लाख गरी रु पाँच लाख उपलब्ध गराइएको थियो  । 

बोरिङ गरिएपछि एक किलोमिटर टाढाबाट पानी किनेर पिउनुपर्ने बाध्यता अन्त्य भएको छ । मनि दमाइले भने, “किनेको पानी बाल्टिन वा जर्किनमा बोकेर घर ल्याउने गरेका थियौँ । बस्तीमै खानेपानीको व्यवस्था भएपछि सहजरूपमा पानी पिउन पाएका छौँ । मजदुरी गरेर ल्याइएको आधा बढी रकम पानी किन्नमै खर्च हुन्थ्यो, अहिले त्यो सबै जोगिएको छ ।”विगतमा खानेपानीकै लागि एक परिवारले दैनिक रु १०० देखि रु ३०० सम्म खर्च गर्दै आएका थिए । बस्ती बसाइएको ठाउँमा सानो रकमले नल्का गाड्न सकिँदैथ्यो हरि दमाईले भने, “रु एक लाखभन्दा बढी रकम नल्का गाड्नकै लागि लाग्थ्यो । त्यो हामी कसैसँग नभएकाले पानी किन्नुपर्ने बाध्यता थियो ।”
     
नगरपालिका र दातृ निकायसँग बोरिङका लागि माग गरिएकाले बल्ल खानेपानीको व्यवस्था भएकोे मुक्त हलिया परिवारको भनाइ  छ । यसैगरी उक्त परियोजना र नगरपालिकाको सहयोगमा वडा नं १९ स्थित बाँगफाँटामा पुनःस्थापित मुक्त हलिया बस्तीमा समेत रु पाँच लाखकै लागतमा खानेपानीका लागि बोरिङ गरिएको र  यसबाट ३२ परिवार लाभान्वित भएका राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका जिल्लाअध्यक्ष शिवी लुहारले बताए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया