अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो निजी रिसोर्टमा जी–७ बैठक गराउने निर्णयबाट पछि हटेका छन् । ट्विटमा आफ्ना निर्णयहरु लेखेर चचामा आउने गरेका राष्ट्रपति ट्रम्प पुनः एकपटक ट्विटको कारण चर्चामा आएका छन् ।
बिहिबार ह्वाइट हाउसमा ट्रम्पले जी–७ बैठक आफ्नो निजी रिसोर्टमा गर्ने घोषणा गरेका थिए ।
उनको उक्त फैसलापछि उनको आलोचना भएको थियो । उनले आफ्नो निजी स्वार्थको लागि आफ्नो निजी रिसोर्टमा कार्यक्रम गर्न लागेको आलोचकहरुले बताएका थिए ।
अमेरिकाका सांसदहरुले उनको यस निर्णयको विरोध गरेका थिए भने उनकै पार्टी रिपब्लिकन पार्टीका केही सांसदहरुले पनि विरोध जनाएका थिए ।
विरोधपछि राष्ट्रपति ट्रम्पले ट्विट गर्दै उक्त योजना रद्द भएको घोषणा गरेका छन् । उक्त बैठक उनले निजी रिसोर्टमा नभई अमेरिकी राष्ट्रपतिको रिसोर्ट क्याम्प डेभिडमा गर्न सकिने बताएका छन् ।
प्रतिक्रिया