सिरियाली कुर्दको आक्रमणमा टर्केली सेनाको मृत्यु

४ बर्ष अगाडि

सिरियाली कुर्दिस लडाकूको आक्रमणबाट आइतबार एक जना टर्केली सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक घाइते भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ । 

संयुक्तराज्य अमेरिकाको अग्रसरतामा टर्कीले युद्धविरामका लागि सहमति जनाए पनि टर्कीले आक्रमण जारी राखेको आरोप छ । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ताल अब्याद सीमा क्षेत्रमा गस्तीमा रहेका टर्कीका सेनामाथि कुर्दहरुले आक्रमण गरेर आफ्ना सैनिकको हत्या गरेको उल्लेख छ । विज्ञप्तिमा आत्मरक्षाका लागि टर्कीका सेनाले पनि प्रत्याक्रमण गरेको उल्लेख छ । 

अमेरिकी अनुरोध र दबाबमा टर्कीले पाँच दिनका लागि कुर्द बहुल सिरियाली भूभागमा अस्थायी युद्धविराम गरेको थियो । पाँच दिनभित्र कुर्द लडाकूहरुले पनि सिरिया–टर्की सीमाक्षेत्र छाड्नु पर्ने शर्त राखिएको छ । 

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले सुरक्षित क्षेत्रबाट कुर्दहरु पछि नहटे जस्तोसुकै कारबाही गर्न टर्की बाध्य हुने चेतावनी दिनुभएको छ । शनिबार टर्की र कुर्दिस लडाकूहरुले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया