पर्यटकीय क्षेत्रमा सौर्यबत्ती जडान

५ बर्ष अगाडि


कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ । 

वडा कार्यालयको रु एक लाख बढीको सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य प्यानल जडान र बत्ति राख्ने कार्य पूरा गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए । 

“बत्तीको व्यवस्था नहुँदा यहाँ घुम्नका लागि पुग्ने पर्यटकले सास्ती खेप्नुपरेकाले बत्तिको अभाव पूर्ति गर्नका लागि वडा कार्यालयकै रकम खर्चेर बत्ती जडान गरेका छौँ”, अध्यक्ष ऐरले भन्नुभयो । पौराणिककालदेखि धार्मिक क्षेत्रका रुपमा पहिचान कायम राखेको यस क्षेत्रसम्म पुग्नका लागि सडक, यातायात, विद्युत् र पर्यटकलाई बस्नका लागि सुविधायुक्त होटल र धर्मशाला नहुँदा पर्यटकले सास्ती खेप्दै आएका छन् ।” चारैतिर हरियो सालको वनले घेरिएको मुड्कामा टिनको छाना भएको सामान्य धर्मशाला, नेपाल पर्यटन बोर्ड र स्थानीय सामुदायिक वनको रु आठ लाखको लगानीमा मन्दिरबाहेकका अन्य भौतिक पूर्वाधार यस क्षेत्रमा छैन । 

प्राचीनकालमा पहाडबाट झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आए पछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुँदै गएको हो । 

यसैगरी वडाका दश स्थानमा समेत सौर्यबत्ती जडानको कार्य भइरहेको छ । सार्वजनिक स्थान, सडक चौराह र विद्यालय नजिकका स्थानमा सौर्यबत्ती जडानको कार्य भइरहेको अध्यक्ष ऐरको भनाइ रहेको छ । सौर्यबत्ती जडानका लागि वडाको रु पाँच लाख र रु पाँच लाख अनुदान गरी रु १० लाखको बजेट परिचालन गरिएको छ । 

चिकित्सक अभावबारे छलफल 

यसैगरी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले खेप्दै आएको चिकित्सकको अभाव पूर्ति गर्नका लागि सांसदहरूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

दक्ष विशेषज्ञ डाक्टरको अभावमा अस्पताल रिफर सेन्टरका रुपमा परिणत भएपछि सांसदले अस्पतालमा चिकित्सकको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । 

अस्पतालले लामो समयदेखि खेप्दै आएकाले चिकित्सको अभाव पूर्ति गर्नका लागि सदनमा कुरा राखेको सांसद डा दीपक भट्टले अस्पताल सुधारका लागि शनिबार साँझ अबेर सरोकारवालाको सहभागितामा आयोजना गरिएको बैठकमा बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया