ट्वीटरले राजनीतिक विज्ञापन हटाउने

४ बर्ष अगाडि

विश्वकै लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने घोषणा गरेको छ ।

राजनीतिक व्यक्तिहरुबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको भन्दै सबै क्षेत्रबाट चासो व्यक्त भएपछि उक्त निर्णय गरिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले ट्वीट गर्दै इन्टरनेट विज्ञापन निकै सशक्त र ज्यादै प्रभावकारी देखिए पनि यो शक्तिलाई राजनीतिक व्यक्तिहरुले दुरुपयोग गर्ने सम्भावना बढी देखिएको बताए ।

उनले यही हतियारका आधारमा लाखौं जनतालाई मतदानका बेला दिग्भ्रमित पार्ने खतरा रहेको उल्लेख गरेका छन् ।

डोर्सेले नयाँ नीति बमोजिम राजनीतिक मामिलाका साथै उम्मेदवारका सबै विज्ञापनमाथि रोक लगाइने बताए ।

अर्को महिना विज्ञापनसँग सम्बन्धित विस्तृत विवरण सार्वजनिक गरिने र आगामी नोभेम्बर २२ देखि यो नीति लागू हुने पनि उनले जानकारी दिए ।

डोर्सेले कुनै राजनीतिक विज्ञापन बेगर पनि ठूला र धेरै सामाजिक अभियानहरु सञ्चालनमा आएको बताए ।

“अमेरिका र विश्वकै लोकतन्त्रको रक्षाका लागि यो सही निर्णय हो,” सन् २०१६ की राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले ट्वीट गरेकी छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया