गर्मी छल्न भारतीयलाई बोलाउँदै पोखराका पर्यटन व्यवसायी

५ बर्ष अगाडि

काठमाडौं ।  पर्यटन प्रवद्र्धनमा नीजि क्षेत्र पछिल्लो दिनमा सक्रिय देखिएको छ । आर्थिक विकास र समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ पोखराका पर्यटन व्यवसायीले भारतीय नागरिक केन्द्रीत पर्यटन गतिविधि अगाडि बढाएका छन् ।

उनीहरुले विगत ३ वर्षदेखि भारतका विभिन्न् शहरमा पुगेर ‘चलिए पोखरा’ अभियान नै सञ्चालन गर्दै आएका छन् ।

उनीहरुले पछिल्लो पटक  पोखरेली पर्यटन व्यवसायीले विहार तथा आसपासका पर्यटकलाई गर्मी छल्न पोखरा आउन निम्तो दिएका छन् ।

पश्चिमाञ्चल होटेल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धनमा बुधबारदेखि शुरु ‘चलिए पोखरा’ अभियान सुरु गरेको छ ।

पोखराका पर्यटन व्यवसायी सहित बिहीबार पटना पुगेको टोलीले गर्मी छल्नका लागि भारतीयको उपयुक्त गन्तव्य पोखरा हुने बताउँदै भारु ३हजारदेखि १३ हजारसम्मको पर्यटकका लागि न्यूनतम खर्च विवरण समेत  सार्वजनिक गरेका छन् ।

नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले पोखरा सेप्टेम्बरदेखि फेब्रुअरीसम्म उपयुक्त समय भए पनि भारतीय पर्यटकका लागि वर्षात् पनि उपयुक्त हने धारणा राखेका थिए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले विहारी धर्मसंस्कृति नेपालसँग मिल्दोजुल्दो भएको बताए ।

टुरिजम एशोशियशन विहारका अध्यक्ष सञ्जय शर्माले भारतीय पर्यटकलाई सीमा नाकामा धेरै नै दुःख दिने, अपमान गर्ने तथा झञ्झट लगाउने गुनासो गर्दै बसमा गएका भारतीय पर्यटकलाई जुनसुकै शहरमा निर्धक्क जाने र एक पटक कर तिरेपछि अन्य ठाउँमा कर नलाग्ने गरेमा नेपाल आकर्षक हुने सुझाव दिएका थिए ।

पटनादेखि पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सके पर्यटको वृद्धि हुने उनको विश्वास छ । उनले पोखराका होटलको सेवा शुल्क बढी भएको औँल्याउँदै उक्त शुल्क कायम रहे भारतीयहरु नेपालको सट्टा थाइल्याण्ड जान सक्ने भएकाले केही रकम घटाउन व्यवसायीलाई सुझाव दिएका थिए ।

पटनाका पर्यटन व्यवसायी गौरव कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ गएपछि विहारीको चासो बढेको र जाने चाहना व्यक्त गर्ने गरेको बताए । उनले पटना–पोखरा हवाई यात्रा शुरु भएमा १० देखि १५ प्रतिशत पर्यटक वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया