चितुवा खोज्दै जङ्गलमा विज्ञ

४ बर्ष अगाडि

जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका छन् । भानु नगरपालिका–१, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढवर्षको अवधिमा ६ जना बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका हुन् ।     
     
चितुवा नियन्त्रणका लागि कोषका ६ जना विज्ञ टोली परिचालित भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । स्थानीयस्तरबाट चितुवा नियन्त्रणका लागि भएको प्रयास असफल भएपछि विज्ञ टोलीको सहयोगमा चितुवा नियन्त्रणमा लिन खोजिएको हो, बरालले भन्ने, उक्त टोलीले नतिजा निकाल्नेमा विश्वस्त छौं । विज्ञ टोलीका साथमा स्थानीय शिकारीलाई पनि परिचालन गरिएको छ ।     
     
कोषका वरिष्ठ विज्ञ डा. सुवेदीले दुई महिनाभित्रै परिणाममुखी काम देखाउने गरी टोलीले काम शुरु गरेको जानकारी दिए । उनका अनुसार चितुवा प्रभावित वडाबाट दुई÷दुईजना स्थानीयवासीलाई टिममा सहभागी गराइएको छ ।

यस ठाउँको यथार्थ जानकारी भएका स्थानीयवासीलाई टिममा समावेश गरेपछि हामीहरुलाई काम गर्न सहज हुन्छ, डा. सुवेदीले भन्ने, जङ्गलको सबै ज्ञान उनहिरुलाई हुने हुँदा उनहिरुकै सहयोगमा चितुवा नियन्त्रणमा लिनेछौं ।    
     
डा. सुवेदीका अनुसार चितुवा नियन्त्रणका लागि चितुवा हिँड्ने बाटो पहिचान गरिनेछ । उनका अनुसार चितुवा प्रभावित वडामा क्यामरा जडान गरेर चितुवा पहिचान गरिनेछ । चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ ।     
     
देशका ७७ वटै जिल्लामा चितुवा पाइन्छ । पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवाको बढी समस्या रहेको छ । उनका अनुसार बुढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुन्छ । जङ्गलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीको भनाइ छ ।     
     
जङ्गलमा पाइने जनावर चोरी शिकारीले नष्ट हुँदै गएपछि चितुवा आहारा खोज्दै बस्ती नजिक आउने गरेको पाइएको छ,डा. सुवेदीले भनने, बस्ती नजिक आएको चितुवाले आहाराकै लागि मान्छेमाथि आक्रमण गर्ने गरेको छ । चितुवालाई प्रतिदिन चार किलो मासु आवश्यक पर्दछ ।     
     
चितुवा नियन्त्रणका लागि नगरपालिकाको सामुदायिक वनमा परम्परागत खोर राखिएको छ । चितुवा प्रभावित वडाका सामुदायिक वनमा ९ वटा परम्परागत खोर राखिएको छ । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा नियन्त्रणका लागि संरक्षण कोषका विज्ञलाई नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताए।     
     
चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।     
  

४ बर्ष अगाडि

प्रतिक्रिया