आलु रोपिरहेका श्रीमानले खप्पर देखेः पछाडिबाट श्रीमतीले भनिन्, ‘नडराउ यी मेरा पहिलो श्रीमान् हुन्’

४ बर्ष अगाडि

एजेन्सी – साइबेरियामा हत्याको निकै पुरानो घटनाको पर्दाफास भएको छ । यहाँको लुजिनो इलाकामा एक व्यक्ति आफ्नो घरको बगैंचामा आलू रोपिरहेका थिए । माटो खनिरहेका बेला उनले एउटा खप्पर देखे । यो देखेर उनी निकै आत्तिए तर उनको डर त्यतिबेला थप बढ्यो जब उनकी श्रीमतीले उनलाई नडराउन आग्रह गरिन् ।

रसियाको मिडियाले बताए अनुसार, श्रीमानले खप्पर पाएपछि श्रीमतीले पछाडिबाट चिच्याउँदै भनिन्, ‘नडराउ ती मेरा पहिलो श्रीमान् हुन् जो २० वर्ष अघि मेरो हातबाट मारिएका थिए ।’

स्रोतका अनुसार श्रीमतीले उनलाई भनिन्, ‘यो घटना सन् १९९७ को हो । एक दिन मेरो पहिलो श्रीमान अत्यधिक रक्सी पिएर घर आए र  मलाई बेस्सरी कुट्न थाले । रिसको झोंकमा मैले उनलाई बञ्चरोले हानें । उनको तत्काल मृत्यु भयो ।’ त्यसपछि ६० वर्षे ती महिलाले श्रीमानलाई शान्त रहन आग्रह गर्दै भनिन्, ‘त्यसलाई पुनः गाडिदेउ, त्यसलाई बिर्सिदेउ, यसबारे हामी पुलिसलाई बताउँदैनौं ।’

डेली स्टार डट को डट युकेका अनुसार महिलाका दोस्रो श्रीमानले सिधा पुलिसथाना गएर यसबारे सूचना दिए ।

पुलिसका अनुसार महिलाले आफ्नो अपराध स्विकार गरेकी छिन् । पुलिसले उक्त बगैंचाबाट पूरा कंकाल भेटेको बताएको छ ।

पुलिसका अनुसार ती महिलाले ५२ वर्षे आफ्ना पहिलो श्रीमानलाई टुक्रा पारेर घरको बगैंचामा गाडेकी थिइन् । उनीमाथि उनले आलू उमार्न थालिन् । जब छिमेकीले उनलाई श्रीमानबारे सोधे तब उनले उनी कामको सिलसिलामा बाहिर गएको तर कहिले पनि फर्केर नआएको बताइन् ।

पुलिसका अनुसार उनको अपराध गम्भीर हो जसका कारण उनलाई १० वर्षसम्मको जेल सजायँ हुनसक्छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया