एउटै वडामा अढाई करोडको केराखेती

४ बर्ष अगाडि

खाँदा गुलियो र पोषिलो हुने केरा बालकदेखि वृद्धसम्म सबैलाई मन पर्ने स्वादिष्ट फल हो । बिरामीले समेत खान मिल्ने यो फलको खेती तराई र पहाड सबैतिर फाट्टफुट्ट हुने गर्दछ । मोरङ जिल्लाको उत्तरी पहाडी गाउँपालिका मिक्लाजुङको वडा नं ५ मा भने वडाका अधिकाँश बासिन्दा केराखेतीमा जुटेका छन् ।मिक्लाजुङको वडा नं ५ मा जोगिटार, बेलटार, गुप्तीटार, लिङ्गेटार, खोलीटार, आँपटार, ठूलो सामलिङ, सानो सामलिङ, धानखेती र लालवस्ती नामका १० वटा गाउँ छन् । पाँच सय परिवारको बसोबास रहेको ती गाउँका हरेक घरमा कम्तीमा ५० देखि ४०० झ्याङसम्म केराको बगान छ ।

एक झ्याङमा तीन वटा बोट हुने र खरिदकर्ताहरुले बगानमै आएर प्रतिघरी रु ३५० सम्ममा किन्ने गरेकोस्थानीय वासी मिलन राई बताउँछन् । उनका अनुसार यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत नै केराखेती हो । नगदेबाली भएकाले खरिदकर्ताले बगानमै आएर माल उठाउँछन् र दाम पनि हातहातै दिन्छन्, ७० झ्याङ केराखेती गर्दै आएका राई भन्छन् । राई, लिम्बु, बाहुन, क्षेत्री, मगरलगायतका समुदायको बसोबास रहेको यो वडा पुग्न पूर्व–पश्चिम राजमार्गको मङ्गलबारे, पथरी र कानेपोखरीबाट मोटरबाटो बनेको छ । व्यापारीहरुले यहाँ उत्पादित केरा किसानबाट किनेर सिधै काठमाडौँ पुर्याउने गरेका छन् । 
    
वडाकै धेरै केराखेती गर्ने किसान धनबहादुर राईको केरा बगानमा ४०० झ्याङ छन् । उनी केराखेतीबाट वर्षमा  चार लाखसम्म आम्दानी हुने बताउँछन् । चामल किनेर भात खान्छौं, नानीहरु पढाउँछौं, दुःख बिमार हुँदा खर्च गर्छौं, केराखेतीको आम्दानीले घरको सबै गर्जो टार्ने गरेको बताउने ६६ वर्षीय राई भन्छन् ।  
  उनका अनुसार स्थानीय बासिन्दाले भोटाङे जातको केराखेती गर्दै आएका छन् । चिनीचम्पा, मालभोग, जहाजी लगायतका केराका बोटहरु यहाँ थोरै छन् । भोटाङे केराको बिरुवाले एक वर्षमै फल दिने गरेको र एउटा वयस्क बोटले कम्तीमा चार वटा नयाँ बिरुवा उमार्ने गरेको राईले बताए । 
    
मिक्लाजुङ तराईको मोरङ जिल्लामा परे तापनि यहाँको भौगोलिक बनोट पूरै पहाडको छ । भिरालो र उर्बर जग्गा भएकाले यस क्षेत्रमा केराखेती फस्टाएको हो तर, यहाँका अधिकांश केराखेती परम्परागत ढङ्गले गरिएको छ । आधुनिक विधि, मलबीउ र स्याहार नअपनाई किसानहरुले आफ्नै परम्परागत ज्ञान, श्रम र शीपका आधारमा खेती गरिरहेका छन् । मिक्लाजुङ गाउँपालिका वडा नं ५ का वडासचिव हरिप्रसाद कोइरालाले परम्परागत रुपमा भइरहेको केराखेतीलाई आधुनिक प्रणालीमा बदल्न स्थानीय सरकारले यो वडालाई केरा र सुपारी खेतीको पकेट क्षेत्र घोषणा गरिसकेको बताए । चालु आर्थिक वर्षमा केराखेती पकेट क्षेत्रका लागि  ५ लाख बजेट विनियोजन भइसकेको छ ।  
   
कसैले अर्हाएर वा कुनै अध्ययन भएर होइन, गाउँलेहरु आफैंले निर्वाहका लागि केराखेती थालेका रहेछन् केराखेतीको विकासबारे वडासचिव कोइराला भन्नछन् ,हरेक घरमा सय पचास झ्याङ केराखेती छ । अब वडा कार्यालयले उनीहरुलाई व्यावसायिक बनाउन मद्दत गर्ने कार्यक्रम ल्याउँदैछ । वडाका अध्यक्ष रुद्र लिङदेनले आफ्नो वडाको सबै गाउँ केराखेतीका लागि उर्बर रहेको पहिचान भइसकेको हुँदा किसानहरुलाई आधुनिक खेतीका लागि तालीम, बीउ र अनुदान दिएर प्रोत्साहन दिने वडा कार्यालयको योजना रहेको बताए। 

सिँचाइको असुविधा भएको हुँदा यो क्षेत्रमा धान र अन्य बाली मासेर किसानहरुले केराखेती विस्तार गरिरहेका छन् ।     
बिचौलिया खरिदकर्ताहरुले सस्तोमा किनेर लैजाने गरेको कारण खास किसानहरुले आफ्नो श्रम र लगानीको आधारमा मूल्य कम पाउने गरेका छन् । ठूलो घरी छ भने एउटाको ३५० सम्म दिन्छन्, नत्र सानो घरीको अढाई सय मात्र दिन्छन्, एक सय झ्याङ केराखेती गरिरहेका स्थानीयवासी रमेश भण्डारी भन्नछन् – त्यही एउटा घरी राजमार्गको मङ्गलबारे बजार पुग्दा  ८०० हुन्छ भने काठमाडौँ पुग्दा एक हजार ५०० हुँदोरहेछ ।
     
किटनाशक औषधि र रासायनिक मलको प्रयोग नभएको हुँदा यहाँको केराखेती पूर्णरुपमा जैविक मानिएको छ । सरकारबाट कुनै तालीम र अनुदान नपाएको बताउने किसान धनबहादुर राईले हालै केराखेतीमा गबारो र कालो छिर्के रोग देखा परेको बताए । यहाँ दशैं, तिहार, छठ र तीज पर्वका बेला केरा किन्न आउने व्यापारीहरुको भीड नै लाग्ने गरेको छ ।     
प्राकृतिक रुपमा मनमोहक मिक्लाजुङका यी गाउँहरुमा मौलाइरहेको केराखेती अध्ययन र अनुसन्धानका लागि नमुना बन्न सक्छन् । नजीक रहेको कोलुङ झरना र जैविक खान्कीका कारण यहाँ घरबास पर्यटन समेत फस्टाउने प्रशस्त सम्भावना छ ।   
 

४ बर्ष अगाडि

प्रतिक्रिया