नेपाल टेलिकमको सातै प्रदेशमा फोरजी स्तरोन्नति अभियान

४ बर्ष अगाडि

नेपाल टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति अभियान नै चलाएको छ ।

यस कार्यक्रमअन्तर्गत गत कार्तिक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबर्द्धन कार्य उत्साहजनक रूपमा सम्पन्न भएको टेलिकमले जनाएको छ ।

आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण गरियो । आगामी कार्तिक २६ गते नेपालगञ्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने कार्यक्रम रहेको नेपाल टेलिकमले जनाएको छ ।

यसमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राकलाई २ सय एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुनेछ ।  

यो विशेष अभियानअन्तर्गत ग्राहकले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।

गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन गरिएको छ ।

सांगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भने साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिइरहेका छन् ।

कम्पनीले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरे पश्चात् ग्राहकमाझ फोरजी सेवाको लोकप्रियता बढ्दै गइरहेको दाबी कम्पनिको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया