सल्यानका स्थानीय तहमा ५ करोडका गाडी, भाडा र इन्धनको हिसाव नै छैन

४ बर्ष अगाडि

सल्यानमा स्थानीय तहका प्रमुखले ३ करोड बढीका गाडी किनेर सुविधाभोग गरेका छन् । 

आफ्नो पहिलो प्राथमिकताका रुपमा गाडी सुविधा राखेका १० स्थानीय तह प्रमुख र उपप्रमुखले ३ करोड २२ लाख ५५ हजारका गाडी किनेका हुन् । 

सबैभन्दा महंगो गाडी बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले किनेका छन् । उनले ५५ लाख ५० हजार पर्ने महेन्द्राको एस ५ स्कार्पियो चढ्छन्।

दोश्रो महंगो गाडी बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्दकुमार पुन  र कालिमाटी गाउँपालिका प्रमुख दानबहादुर केसीले किनेका छन् । उनीहरुले ५२ लाख पर्ने महेन्द्राकै स्कार्पियो प्रयोग गर्छन् । 
दार्मका प्रमुख निम बहादुर केसी, कुमाखका प्रमुख दिलमाया बुढामगर (गिरी), छत्रेश्वरीका सन्तोष केसी र कपुरकोट गाउँपालिकाका प्रमुखभिम बहादुर सेनले करिब ४३ लाख पर्ने महेन्द्राको एस १० को स्कार्पियो किनेको गाउँपालिका कार्यालयले जनाएको छ । 

शारदा नगरपालिका प्रमुख  सुरेश अधिकारीले अहिले बजार मुल्य ४२ लाख पर्ने महेन्द्राको एस ६ को स्कार्पियो चढ्छन् । 

३७ लाख ३० हजार पर्ने स्कार्पियो किनेका सिद्ध कुमाख गाउँपालिका प्रमुख चित्र बहादुर चलाउनेको गाडी अज्ञात समुहले जलाइदिएपछि उनी उनले मोटरसाइकल चढ्ने गरेका छन् । 

अध्यक्ष मात्र होइन सुविधा भोग गर्न उपप्रमुखको पनि तछाडमछाड छ । छत्रेश्वरीका उपप्रमुख सिता के।सीले २४ लाख ४५ हजारको बोलेरो पिकप र बागचौरका उपप्रमुख कल्पना पुनले  ३० लाखभन्दा बढी पर्ने टाटा कम्पनीको जेनन गाडी किनेका छन् । 

छत्रेश्वरीका उपाध्यक्षले सरकारी बजेटबाटै मोटरसाइकल पनि किनेका छन् । उक्त मोटरसाईकल उनका छोराले पनि प्रयोग गर्ने गरेका छन् । 

कुमाख गाउँपालिकाका उपप्रमुख डिल्लीराज जैशीले वर्षमा ३ लाख २२ हजार ८ सय ३० रुपैया तिर्नेगरी गाडी भाडामा लिएका छन् । 

स्थानीय तहका अनुसार शारदामा जनप्रतिनिधि नआउदै ४ वर्ष अघि खरिद गरिएको गाडी हो भने अन्य स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि खरिद गरिएका गाडी हुन् ।

गाउँगाउँमा सिंहदरबारको नारा लिएर स्थापना भएका जनप्रतिनिधले यसरी विलासी सुविधा उपभोग गर्न थालेपछि जनता निराश भएका छन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया