डोजर प्रकरणः प्रतिवेदन बुझाउन ढिलाइ

४ बर्ष अगाडि

यही कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछि गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ । 

छानबिन समितिको थपिएको म्याद सकिएको पनि एक हप्ता बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन ।  कात्तिक ५ गते २४ घण्टाको समय सीमा राखेर सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्व पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । 

उक्त समय सीमाभित्र छानबिन समितिले प्रतिवेदन बुझाउन नसकेपछि थप ५ दिनको म्याद थपिएको थियो । तिहारको बिदापछि पाँच दिनको म्याद राखिएको थियो । तर उक्त समय सीमामा पनि छानबिन समितिले प्रतिवेदन नबुझाउँदा नागरिकले आशङ्का गर्न थालेका छन् । 

यसअघि केही दिन अगाडि नेपाली काङ्ग्रेसको केन्द्रीय छानबिन समितिले सत्ता र शक्तिका आडमा घटना भएको निष्कर्षसमेत निकालेको थियो । सडक निर्माण गर्दा दुई पक्षबीच झडप भएको थियो । झडपकै क्रममा डोजर चालकले एक महिलालाई हुत्याएको थियो । 

छानबिन समितिले गहनरूपमा सबै कुरा समेट्नुपर्ने भएकाले प्रतिवेदन बुझाउन ढिलाइ भएको जनाएको छ । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार प्रतिवेदन ९० प्रतिशत काम सम्पन्न भएकाले केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारी रहेको बताए । 

समितिले स्थलगतरूपमा दुवै पक्षसँग छलफल गरेको, वस्तुगत अवस्था नगरपालिकासँग बुझेको छ । उनले भने “पीडित पक्षले आफ्नो जग्गामा सडक खन्न नदिने भनी उच्च अदालतमा मुद्दा हालेकाले प्रतिवेदन बुझाउन ढिलाइ भएको छ, त्यसको पनि समस्या समाधानतर्फ छ ।”  

प्रमुख जिल्ला अधिकारी बिदामा रहेकाले उहाँ आउने बित्तिकै प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी छ । छानबिन समितिले जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाउने अनि प्रशासनले प्रदेश सरकार, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालयलाई पठाउने जनाइएको छ ।  

दशरथचन्द नगरपालिका–९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजरले एक महिलालाई हुत्याएपछि घटनाले ठूलो रूप लिएको थियो । डोजरले हुत्याउँदा स्थानीय गौरी जोशी घाइते भएकी थिइन् । गौरी कोहलपुर र भारतमा उपचारपछि घर फर्किसकेकी छिन् । तर अझै पनि गौरीको स्वास्थ्यमा बेलाबेलामा समस्या देखा पर्ने गरेको परिवारले जनाएको छ ।

प्रहरीले महिला हुत्याउने डोजर चालक किशोर बोहरा, डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध ज्यान मार्ने उद्दोगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।   

यसका साथै सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीविरुद्ध सडक निर्माण गर्ने पक्षले किटानी जाहेरी दिएपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया