सिएमसीमा तालाबन्दी

४ बर्ष अगाडि

चितवन – चितवन मेडिकल कलेज(सिएमसी) का विद्यार्थीहरु पुनः आन्दोलित बनेका छन् । सिएमसीले आफूहरुसँग विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै विद्यार्थीहरु पुनः आन्दोलित बनेका हुन् । 

उनीहरुले भरतपुर १३ कैलाशनगरमा रहेको कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीसँग भएको सहमति कार्यान्वयन नभएसम्मका लागि कलेजमा अनिश्चितकालीन ताला लगाइएको जनाइएको छ ।

विद्यार्थीहरुको महिनौको आन्दोलनपछि गएको असोज ४ गत्ते प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा विद्यार्थी, मेडिकल कलेज र अभिभावकबीच त्रिपक्षीय छलफल भएको थियो । छलफलमा सिएमसीले विद्यार्थीबाट अवैध रुपमा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए । 

उक्त सहमति निर्धारित समय घर्किदा पनि कार्यान्वयन नगरेको भन्दै अनिश्चितकालीन ताला लगाएका हुन् । सहमतिअनुसार कार्तिक १८ गतभित्र  अतिरिक्त र अवैधानिक शुल्क फिर्ता वा समायोजन गर्ने सहमति कलेज प्रशासन र चिकित्सा शिक्षा संघर्ष समितिबीच भएको थियो । 

उता मेडिकल कलेजले कुनै पनि शुल्क फिर्ता नगर्ने जनाएको छ । पत्रकार सम्मेलन नै गरेर सिएमसीले समायोजन मात्रै गर्न सकिने बताएको छ । तोकिएको भन्दा २० लाखसम्म बढी शुल्क अवैध रुपमा लिएको भन्दै फिर्ता गर्न माग गर्दै विद्यार्थीहरु विगत ३ महिनादेखि आन्दोलित बनेका छन । 

४ बर्ष अगाडि

प्रतिक्रिया