दातृ निकायले बनाइदिए ९८ लाखमा विद्यालय

४ बर्ष अगाडि

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–८ महाङ्कालस्थित जनज्योति आधारभूत विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ ।

अन्तरराष्ट्रिय दातृ निकाय लिसा हिमालय इभी, जर्मनी र दिगो विकासका लागि एकता (युएसडी) नेपालको संयुक्त पहलमा निर्मित भवन युएसडी नेपालका कार्यक्रम संयोजक अनिल पौडेलले विद्यालयका अध्यक्ष जयबहादुर तितुङलाई हस्तान्तरण गरे ।

सो अवसरमा प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङले विकट भूगोलमा आएर लिसा हिमालय र युएसडी नेपालले गरेको भौतिक पूर्वाधार तथा स्वास्थ्य र शिक्षामा गरेको लगानीको प्रशंसा गरे राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले स्थानीय सरकारले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरेकोमा धन्यवाद दिए।     
     
लिसा हिमालय इभीको सहयोगमा विकासका लागि एकता नेपालले पाँचकोठे विद्यालय भवन र दुईकोठे शौचालयसहितको भवन निर्माण गरेको हो । संस्थाका अनुसार भवनमा डेक्स, बेन्च र शिशु स्याहार केन्द्रका लागि आवश्यक पूर्वाधार र शौचालयसहित व्यवस्थापन गरिएको छ । विद्यालय भवन र शौचालयका लागि कूल  ९७ लाख ९९ हजार ३८ खर्च भएको लिसा हिमालयका नेपालका प्रतिनिधि अन्जनप्रसाद पौडेलले जानकारी दिए।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर तितुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राक्सिराङका वडाध्यक्ष रामकृष्ण प्रजा, रामकुमार थिङ, नेपाली काङ्ग्रेसका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने, नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तान, साबिक काँकडा गाविसका पूर्वअध्यक्ष होमबहादुर तितुङ लगायतले विद्यालय र शिक्षाको विविध पक्षमाथि प्रकाश पारे ।     
     
 

४ बर्ष अगाडि

प्रतिक्रिया