विपद्मा वन्यजन्तुलाई जोगाउन नेपाल र भारतले समन्वय बढाउने

५ बर्ष अगाडि

रत्ननगर – चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले विपद्का बेलामा हुने वन्यजन्तुको क्षति रोक्न समन्वय बढाउने भएको छ । 

अघिल्लो वर्ष बाढीले वन्यजन्तुहरु बगाएर भारत पु¥याएकाले यस्ता विपद्बाट हुने क्षति न्यून गर्न समन्वयलाई चुस्त पार्ने सहमति भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो । 

केही दिनअघि चितवन निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरुबीच समन्वय बैठक बसेर यस्तो निष्कर्ष निकालिएको ढकालले जानकारी दिनुभयो । अहिले वाल्मीकि टाइगर रिजर्भले हात्तीसारको संख्यासमेत बढाएकाले गैँडालगायत वन्यजन्तुको उद्धारमा अझै सक्रिय भएर लाग्ने जानकारी गराएको उहाँले बताउनुभयो । चितवन निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भ वाल्मीकि आश्रम क्षेत्रमा जोडिएको छ । 

चितवन निकुञ्जका प्रमुख ढकालसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल तथा तराई भू–परिधि कार्यक्रम ९ताल०का प्रतिनिधिहरु र भारतको वाल्मीकि टाइगर रिजर्भका निर्देशक चन्द्रशेखर लगायतका सुरक्षा र संरक्षण अधिकृतहरु सहभागी बैठकले यस्तो सहमति गरेको हो । “वन्यजन्तुहरु जोखिममा परे भने तत्कालै खबर गर्ने, सुरक्षा प्रदान गर्ने र उद्धारमा समन्वय गर्ने भन्ने छ”, ढकालले भन्नुभयो, “विपद्मा हुने क्षति न्यूनीकरणका लागि यो महत्वपूर्ण प्रयास हुनेछ भन्ने ठानेका छौँ ।” 

गत वर्ष साउन २८ र २९ गते चितवनमा भीषण बाढी आउँदा दर्जनौँ वन्यजन्तु मरेका थिए । बाढीले बगाएर भारत र सीमा आसपास पु¥याएको १० वटा गैँडालाई चितवन निकुञ्जले उद्धार गरेर ल्याएको थियो । अहिले पनि यस्तो विपद् निम्तिन सक्ने खतरालाई ध्यानमा राखेर विपद्मा वन्यजन्तु जोखिम न्यूनीकरणका लागि समन्वय गर्न थालिएको हो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल दुई देशका अधिकारीहरुबीचको समन्वयले संरक्षण चुस्त हुने भएकाले छलफल तथा भेटघाटलाई निरन्तरता दिने गरिएको बताउनुहुन्छ । 

वन्यजन्तु अपराध आरोपमा थप एक पक्राउ 

चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु अपराधमा संलग्न रहेको आरोपमा चितवनको माडीबाट थप एक जनालाई पक्राउ गरेको छ । 

गएको असार तेस्रो साता पक्राउ परेका भारतीय नागरिकको बयानका आधारमा माडीबाट एक जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो । दुई दिनअघि पक्राउ परेका उनको विषयमा अहिले अनुसन्धान भइरहेकाले परिचय नखुलाइएको ढकालले बताउनुभयो । 

दक्षिण चितवनको माडी सोमेश्वर क्षेत्रस्थित भारतीय सीमा नजिकैको कोरिडोरबाट असार तेस्रो साता सात जना भारतीय पक्राउ परेका थिए । त्यसमध्ये एकजना यसअघि गैँडा तस्करमा संलग्न रहेको भन्ने खुल्न आएको निकुञ्जले जनाएको छ । उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको र अन्य ६ जनाको विषयमा निकुञ्जले नै मुद्दा हेरिरहेको ढकालले जानकारी दिनुभयो । उनीहरु सोमेश्वर क्षेत्रमा बन्दोबस्तीका सामानसहित पक्राउ परेका थिए । 
हातहतियार भने नभेटिएकाले टोली परिचालन गरेर जंगलमा हातहतियारको खोजी भइरहेको निकुञ्जले जनाएको छ । वर्षा लागेसँगै विभिन्न सीमा क्षेत्रमा तस्करहरुको चहलपहल बढ्न सक्ने भएकाले सुरक्षामा कडा गरिएको चितवन निकुञ्जले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया