कर्के नजर लगाए पनि कानुनी फन्दा

५ बर्ष अगाडि

काठमाडौँ– गलत नियतले महिलामाथि ‘कर्के नजर’ लगाउनु कानुनी रुपमा अपराध हो भन्ने कुरामा कतिको सचेत हुनुहुन्छ ? सचेत हुनुहुन्न भने अब सचेत बन्नुहोस् ।  सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कम्पनी र कार्यालय स्थलमा महिलालाई एकोहोरो हेर्ने, होच्याउने, जिस्क्याउने, संवेदनशील अङ्ग छुन खोज्ने लगायतका व्यवहारलाई प्रचलित कानुनले यौनजन्य दुव्र्यवहारका रूपमा परिभाषित गरेको छ । 
नेपालको संविधानले महिला सुरक्षालाई ध्यान दिएको स्पष्ट गर्दै अधिवक्ता विक्रमबहादुर कुँवर भन्छन्, ‘महिलामैत्री कानुनले पुस्तौँदेखिको पितृसतात्मक सोच र समाजको अन्त्य गरिदिएको छ ।’ 
आफूमाथि भएको अन्याय लुकाएर र सहेर बस्नुहुन्न, कानुनी उपचार खोज्दा न्याय पाइन्छ भन्ने कुरामा महिलाहरू विश्वस्त हुँदै गएको समेत उनले बताए । उनले थपे, ‘गलत नियत राखेर महिलालाई हेर्दा कानुन लाग्छ, हिंसाका घटना अब लुकाएर लुक्ने अबस्था छैन ।”
“कुनै महिलाप्रतिको हेराइ ‘गलत’ आशयमा छ भने त्यस्ता पुरुषमाथि आशय करणीसम्बन्धी कानुन आकर्षित हुने गर्छ । मुलुकी ऐन जस्तै मुलुकी अपराध (संहिता) ऐन २०७४ ले महिलालाई इच्छाविपरीत छुनु तथा जिस्क्याउनुलाई अपराध मानेको छ । 
भदौबाट लागू हुने मुलुकी फौजदारी संहिताले ऐनमा महिलाको मञ्जुरी विना कु–दृष्टि वा ‘नजर’ लगाई करणीको आशयले हेरेमा, शरीरका संवेदनशील अङ्ग छुन खोजेमा वा छुने प्रयास गरेमा, अश्लील शब्द प्रयोग गरेमा वा अश्लील शब्दबाट गाली गरेमा यौन दुब्र्यवहार अपराध हुने व्यवस्था गरेको छ ।
त्यस्तै, लिखित, मौखिक, साङ्केतिक भाषा, तस्विर, चित्र, फोटो देखाई वा विद्युतीय उपकरण प्रयोग गरी यौन आशयले जिस्क्याएमा, अस्वभाविक, अवाञ्छित र अमर्यादित व्यवहार गरेमा पनि यौन दुब्र्यवहार गरेको ठहरिने कानुनमा छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया