सक्कली श्रीमतीको नाममा  नक्कली श्रीमतीलाई अमेरिका लान खोजेपछि

५ बर्ष अगाडि

काठमाडौं–रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो बिवाहको नाटक गरि एक युवतीलाई संयुक्त राज्य अमेरिका लैजान लागेको बताइएको छ । 
राजधानीमा  रामकुमार गुुप्ताकी पहिलो श्रीमती रुपरेखा गुप्ताका आफ्न्तले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिका लैजान तयार भएका रामकुमार गुप्ता र मधु साहलाई कानूनी रुपमा कारबाही गर्न माग गरेका छन् ।
रुपरेखाकी फुपु नाता लाग्ने रञ्जु साहले दोस्रो बिवाहको बारेमा संविधान कडा भएपनि व्यबहारिक रुपमा महिलाहरुले अत्याचार खेपिरहनुपरेको बताईन् ।
नेपाल वैश्य यूवा संघकी केन्द्रीय सचिवसमेत रहेकी साहले भनिन्,‘मेरो भदैनी रुपरेखाको श्रीमान पाँचवर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ, पछिल्लो समयमा उहाँले रौतहटकै अर्की मधु साह गुप्ता नाम गरेकी केटीलाई नागरिकता दिएर उनलाई अमेरिका लैजान लागेको हामीलाई सूचना आएको छ, त्यही खबरले हाम्रो भदैनी मानसिक रुपमा प्रभावित भएकी छिन्, पाँच वर्षीया छोरी छन्, दोस्रो बिवाह गरेर जोडिएको घरपरिवारलाई अन्यायमा पार्ने काम उनले गर्दैछन्, यो कार्य पूर्णरुपमा गलत छ ।’
त्यस्तै कार्यक्रममा रुपरेखाका बुवा विश्वनाथ साह गुप्ताले आफ्नी छोरीमाथि अन्याय गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । उनले भने,‘७ वर्ष पहिले आपसी मिलेमतोमा विवाह गरेका थिए, पाँच वर्षकी नातिनी छिन्, दोस्रो विवाहको नाटक गरेर छोरीको श्रीमान्ले अर्की श्रीमतीलाई अमेरिका लैजान थालेको सूचना हामीले पाएका छौं, मधु साहको काका नाता लाग्ने फोरमका नेता समेत रहेका किरण साहले मलाई पैसामा मिल्न आग्रह गरेका छन्, हामीलाई पैसा चाहिएको होईन ।’
उनले अघि थपे,‘हाम्री छोरीको न्याय खोसिनु हुँदैन भन्ने हो, नागरिकता दिने, यो कुकार्यमा संलग्न जोकोहीलाई कडा कारबाही हुनुपर्छ, नेपालको संविधानले दोस्रो बिवाह गर्नेलाई दण्डित गर्छ, त्यो कारबाही दोषीले भोग्नैपर्छ ।’ पाँच वर्षिया छोरीको साथमा २५ वर्षिया आमा रुपरेखा गुप्ता अहिले माईतीमा बस्दै आएकी छिन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया