घट्दै छ आयात, बढ्दै छ निर्यातः व्यापार घाटामा सुधार

४ बर्ष अगाडि

काठमाडौ – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैदेशिक व्यापारमा सुधार देखिएको छ । अघिल्ला बर्षहरूमा उच्च मात्रामा आयात बढ्ने गरेकोमा यस बर्ष भने ठीक उल्टो देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिषय तीन महिनाको प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार यस अवधीमा बस्तु आयात १०.३ प्रतिशतले घटेको छ भने निर्यात १४.४ प्रतिशतले वृद्धि बढेको छ । चालु आवको प्रथम त्रैमासमा रू. ३ खर्ब ३४ अर्ब ९५ करोडको बस्तु आयात भएको छ, जुन गत आवको भन्दा  रू. ३३ अर्ब ६४ करोड कम हो । गत आवमा बस्तु आयात ४३.६ प्रतिशतले बढेर रू. ३ खर्ब ७३ अर्ब पुगेको थियो ।
यस्तै, चालु आवमा नेपालबाट रू. २७ अर्ब १७ करोड बराबरको बस्तु निर्यात भएको छ । गत आवमा रू. २३ अर्ब ७४ करोड बराबरको बस्तु निर्यात गरिएको थियो । 
वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुहरुको आयात घटेको छ ।
वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य)  वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोशाक, ऊनी गलैचा, तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
यसरी बस्तु निर्यात बढेपछि र आयात घटेपछि नेपालको बैदेशिक व्यापार घाटा १२ प्रतिशतले घटेको छ । चालु आवमा रू. ३ खर्ब ७ अर्ब ७८ करोड बराबरको व्यापार घाटा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया