अष्ट्रेलिया पठाउने भन्दै ठग्ने 'पत्रकार' डेढ वर्ष जेल

४ बर्ष अगाडि

अष्ट्रेलिया पठाउँछु भन्दै ६ लाख ठगी गर्ने  एक महिला जेल चलान भएकी छन् । 

अर्घाखाँची जिल्लाकाे साविक बाँगी- ८ घर भइ काठमाडौं बस्ने बसन्ता आचार्य वैदेशिक रोजगार न्यायधिकरणकाे फैसलाले १ वर्ष ६ महिना जेल चलान भएकी हुन् । 

गत असार देखि फरार उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले शुक्रबार काठमाडौंको केएल टावरबाट पक्राउ गरेको थियाे । 

आचार्यले २०६९ कार्तिक १० गते रु ६ लाख लिएर अष्ट्रेलिया नपठाएपछि गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका हरी थापाले उनी बिरूद्ध २०७२ सालमा बैदेशिक रोजगार न्यायधिकरणमा मुद्दा दायर गरेका थिए । 

न्यायधिकरणले गत असार १८ मा आचार्यले ठगी गरेकोले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । 

आचार्यले बैदेशिक रोजगार ऐन २०६४ दफा १० र ४३ बमोजिम कसुर गरेकोले विगो ६ लाख र विगोको ५० प्रतिशत हर्जना ३ लाख गरी रु ९ लाख वादीलाई भर्नुपर्ने समेत न्यायधिकरणको फैसलामा उल्लेख छ । 

न्यायधिकरणको फैसलापछि फरार रहेकी उनलाई पक्राउ गरेर कारागार पठाएकाे सीआईबीले जनाएकाे छ । 

आचार्यबिरूद्द आफूले मात्र मुद्दा दायर गरेपनि उनले धेरैलाई ठगी गरेकाे थापाकाे भनाइ छ । 

उनले यूट्युव च्यानलमा कार्यक्रम चलाउने र टेलिभिजन पत्रकार भन्दै ठगी गर्ने गरेकाे समेत पीडितले बताएका छन् ।  

उनलाइ एक युट्युव च्यानलकै कार्यालयबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया