६० लाख नेपालीलाई मतदानबाट वञ्चित गरेर आउने जनमत अपूर्ण : कमल थापा

४ बर्ष अगाडि

राप्रपा अध्यक्ष कमल थापाले ६० लाख नेपाली नागरिकलाइ मतदानबाट वञ्चित गरेर आउने जनमत अपूर्ण भइरहेको भन्दै विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । 

अमेरिका भ्रमणका क्रममा टेक्सासको ड्यालसमा आयोजित नेपाली समुदायसंगको अन्तरक्रियामा अध्यक्ष थापाले प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका छन् । 

अध्यक्ष थापाले तत्कालीन संविधानसभामा राप्रपा समेतको जोडबाट गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्दछ भन्ने व्यवस्था कायम गरिएको तर संविधान जारी भएको चार वर्षमा पनि कानुन बन्न नसक्नु दुस्खद भएको बताएका छन् ।

अध्यक्ष थापाले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको अविभाज्य क्षेत्र रहेकोमा जोड दिदै आम नेपालीको ऐक्यबद्धता, सम्पूर्ण राजनीतिक दलको एकमत र प्रवासमा रहेका नेपालीको दबाबमा पनि नेपाल सरकारले सीमा अतिक्रमण बारे भारत सरकारसंग वार्ता गरि समस्याको समाधानमा ढिलाइ गरिरहेको आश्चर्यजनक भएको बताएका छन् । 

सिमा सम्बन्धि समस्यामा राजा महेन्द्रलाई विवादमा तानिएको तर्फ संकेत गर्दै अध्यक्ष थापाले भारतीय पक्षलाई बलियो बनाउने र नेपालको तर्कलाई कमजोर बनाउने काम स्वयं नेपाली पक्षबाट भइरहेकोले कसैलाई दोष लगाउने चालबाजी नगर्न आग्रह गरेका छन् । 

सिमा अतिक्रमणका सम्बन्धमा प्रवासमा रहेका नेपालीको समुदायको र एनआरएनएको पहलकदमी, चासो र चिन्ता सकारात्मक र प्रशंसनीय रहेको पनि उनले बताए । 

नेपालका अन्य राजनीतिक दल भन्दा राप्रपा फरक विचार र फरक बाटोबाट हिडिरहेको बताउँदै कतिपयले दुस्साहसपूर्ण बाटो भनेतापनि नेपालको लागि राप्रपाले अबलम्बन गरेको मौलिक प्रजातन्त्र स्थापनाको बाटो सहि र उपयुक्त रहेको बताएका छन् ।

एनआरएनए एनसिसि टेक्सास च्याप्टरको आयोजनामा भएको भेटघाट एवं अन्तरक्रियामा एनआरएनए अमेरिका क्षेत्रको उप क्षेत्रीय संयोजक रामसि पोखरेल, एनआरएनए एनसिसि अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा।अर्जुन बञ्जाडे र आयोजक संस्था टेक्सास च्याप्टरका अध्यक्ष राजेश अर्यालले राष्ट्रियताको मुद्दा र नेपाल भारत सिमा समस्या बारे राजनीतिक दलका बीच एकमत बन्न सकेकोमा प्रशंसा गर्दै नेपालको विकासमा गैर आवासीय नेपालीको सक्रिय भूमिका रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा राप्रपा अध्यक्ष थापा संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका छन् । अध्यक्ष थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । 
विश्वका लिबरल डेमोक्रेटिक पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई अध्यक्ष थापाले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया