मुआब्जा निर्धारणमा असन्तुष्टि जनाउँदै आरुघाट गाउँपालिकामा तालाबन्दी

४ बर्ष अगाडि

गोरखा — मुआब्जा निर्धारणमा असन्तुष्टि जनाउँदै बुढीगण्डकी डुवान प्रभावितले आरुघाट गाउँपालिका कार्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका छन् । बिहान १० बजे गाउँपालिकाको मुख्य प्रवेशद्वारमा ताला लगाइएको डुबान प्रभावित आरुघाटका दिनेश ढकालले बताए ।

‘गाउँपालिका पनि राज्यको अंग हो, सरकारले गरेको अन्यायको बिरोधमा तालाबन्दी गरेका हौँ,’ उनले भने।

सरकारले आइतबार निर्धारण गरेको मुआब्जामा असन्तुष्टि जनाउँदै आरुघाटका प्रभावितले सोमबार दिउसोबाट बजार बन्द गराएका छन्। सोमबार साझ राके जुलुस निकालेर मुआब्जा स्थानीयले बिरोध जनाए। मंगलबार बिहानैदेखि आरुघाट बजार बन्द छ भने बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय बन्द छन्। सार्वजनिक र नीजि सवारी साधनसमेत स्थानीयले चल्न दिएका छैनन्।

‘करेसबारीको पनि ५० हजार दिने रे, सारै मर्का पर्ने किसिमले मुआब्जा निर्धारण भएको छ,’ प्रभावित ढकालले भने, ‘राज्यको ब्यवहार चित्त वुझेन।’ मुआब्जा पुनरावलोकन नभए फुकुवा गर्नु पर्ने प्रभावितको माग छ। ‘यहि मुल्य दिने हो भने हामी लालपुर्जा दिदैनौँ, सहि मुआब्जा दिनुपर्‍यो नत्र हाम्रो जग्गा फुकुवा गरियोस्,’ ढकालले भने।

लामो रस्साकस्सी बुढीगण्डकी डुबान क्षेत्र अन्तर्गत बजार क्षेत्रको मुआब्जा निर्धारण आइतबार राती भएको थियो। आरुघाट र आर्खेत तथा धादिङको खहरमो जग्गाको मुआब्जा सोमबार बिहान सार्वजनिक गरिएको थियो। त्यस क्षेत्रका जग्गालाई बर्गिकरण गरि आनाको न्यूनतम ५० हजार देखि अधिकतम सात लाख सम्म मुआब्जा निर्धारण गरिएको छ। प्रभावितले भने आनाको २५ लाख रुपैंया पाउनुपर्ने माग राख्दै आएका थिए।

आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालले डुवान प्रभावितसँग अहिले केहिबेरमा छलफलमा बस्ने बताए।

४ बर्ष अगाडि

प्रतिक्रिया