महरालाई छुटाउन रोशनी पुगिन् उच्च अदालत

४ बर्ष अगाडि

बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी छन् ।

जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले दुई दिनअघि उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।

उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको सो निवेदनलाई अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरिदिएको छ ।

रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएको लगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी छन् ।

निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध आज इजलासमा निवेदन दिन पुगेकी छन् । रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन भोलि इजलासमा पेश हुनेछ ।

दाहालले जाहेरीकर्ता स्वयं आदेशविरुद्ध निवेदन दिन आएका कारण अदालत प्रशासनले दर्ता अस्वीकार गरेको बताउँछन् ।दरपीठविरुद्धको निवेदनलाई इजलासले बदर गरे रोशनीको निवेदन उच्च अदालत पाटनमा दर्ता हुनेछ ।

प्रशासनले गरेको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिन सकिने कानुनी व्यवस्थालाई टेकेर रोशनीले निवेदन दिएकी हुन् ।महराले थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध गत ५ मंसिरमा उच्च अदालत पटनमा निवेदन दिइसकेका छन् ।

जिल्ला अदालत काठमाडौंले गत १८ कात्तिकमा महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया