ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य, मिक्स टिम रिलेमा भारतलाई स्वर्ण

४ बर्ष अगाडि

पोखरा – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ ।

तीनदिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले ट्राईयाथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाएका थिए ।

 त्यसैगरि दुआथलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमीबुढा मगरले नेपाललाई रजत पदक दिलाएका छन् । साथै सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले मिक्स टिम रिले ट्राईयाथलनमा रजत पदक प्राप्त गरेको थियो । त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्राईयाथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए । यो सँगै नेपालले ट्राईयाथलनमा कुल ६ पदक प्राप्त गरेको छ ।

नेपालका लागि मुख्य प्रतिस्पर्धी देश भारतले २ स्वर्ण, २ रजत र १ कास्य गरि कुल ५ पदक हात पारेको छ । त्यसैगरि श्रीलंकाले १ स्वर्ण र ३ कास्य गरि कुल ४ पदकमा चित्त बुझाएको छ ।कुल ५ स्वर्ण सहित १५ पदकका लागि सागअन्तरगतको ट्राईयाथलनमा तीन देशको सहभागिता रहेको थियो ।

बुधबार भएको मिक्स टिम रिले ट्रायथलनमा भारतको तर्फबाट प्रग्न्यामोहन, एम एस आदर्श, सोरोजिनी देवीथाउदम र विश्वरजित साइखोमले सहभागिता जनाएका थिए । नेपालको तर्फबाट सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुले सहभागिता गरेका थिए । त्यसैगरि श्रीलंकाको तर्फबाट पुभिनीका हान्दावाला, आशंकानिलवीरा, गयाना दशनाएके र छलकाविक्रमा रच्चीको सहभागिता थियो ।

भारतको टिमले निर्धारित दुरी १ घण्टा ३५ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हासिल गरेको थियो । त्यस्तै १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै नेपालले रजत पदक हासिल गर्न सफल भएको थियो । श्रीलंकाको टिमले १ घण्टा ४१ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै कास्य पदकमा चित्त बुझायो । मिक्स टिम रिले ट्राईयाथलनका लागि ३ सय मिटर दुरीको पौडी, ७।५ किलोमिटरको साईकिलिङको दुरी र २।५ किलोमिटर दुरीको दौड तय गरिएको थियो ।

ट्राईयाथलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव तथा ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राजश्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन् । व्यक्तिगत तर्फबाट दिने घोषणा गर्दै श्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया