अर्थमन्त्री सहित १९ जनाको कार्यकाल फागुनमा सकिँदै, निर्वाचन आयोगले थाल्यो निर्वाचनको तयारी

४ बर्ष अगाडि

राष्ट्रिय सभाका एक तिहाई सदस्यको पदावधि फागुन २० गते सकिने भएपछि निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको तयारी थालेको छ । 

पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी प्रावधान रहेकोले आयोगले निर्वाचनको तयारी शुरु गरेको हो ।  

राष्ट्रिय सभामा उनन्साठी सदस्यीय रहने संवैधानिक व्यवस्था छ । त्यसमध्ये पहिलो पटक राष्ट्रिय सभा सदस्य बनेका एक  तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्षमा पदावधि समाप्त हुने व्यवस्था गरिएको छ । 

फागुन २० मा १९ जना सदस्यको पदावधि सकिने भएकोले निर्वाचन आयोगले  रिक्त हुने ठाउँमा नयाँ सदस्य निर्वाचन गर्न 
राजनीतिक दलसँग सोमबार  छलफल गर्ने भएको छ । 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सङ्घीय संसद् सचिवालयले केही दिनअघि राष्ट्रियसभा निर्वाचनका लागि आयोगलाई अनुरोध गरेको थियो । 

राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि निर्वाचनको  मिति घोषणा हुने उनको भनाइ छ ।

रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । 

आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भनाइ छ । 

को–कसको पूरा हुँदैछ दुईवर्षे कार्यकाल

फागुनमा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरुमा अर्थमन्त्री डा. युवराज खतिवडा सहितका सदस्यहरु छन् । सरिता प्रसाइँ, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपालीको कार्यकाल पनि आगामी फागुन २० गते सकिनेछ ।  

अर्थमन्त्री खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ । उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना रहेका छन् । 

कसरी चुनिन्छन राष्ट्रिय सभा सदस्य : 

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ ।  

राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सातजना निर्वाचित हुनेछन् ।

सङ्घीय संसद्को माथिल्लो सभाका रुपमा रहने राष्ट्रियसभामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने संविधानले परिकल्पना गरे पनि कतिपय परिपक्व नभएका राजनीतिक कार्यकर्तालाई स्थान दिँदा संविधानको भावनाअनुरुप सभाको गरिमा कायम हुन नसकेको भनी आलोचना हुँदै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया