१५ लाख पाेहाेरै सकियो, एकवर्षसम्म उम्रेनन् कागती

४ बर्ष अगाडि

गुल्मीको छत्रकोट गाउँपालिकाले किसानका लागि आएको कागती खेतीको नाममा १५ लाख दुरुपयोग गरेको फेला परेको छ । 

जनप्रतिनिधि र कर्मचारी र समूहको मिलेमतोमा छत्रकोट –५ स्थित ढुङ्गेदेउराली वागवानी उपभोक्ता समूहको लागि आएको रकम दुरुपयोग गरेको फेला परेको हो । 

सो समूहलाई ५ नम्बर प्रदेशको भूमि, व्यवस्था तथा कृषि मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा  कागती खेतीका लागि १३ लाख ३२ हजार ६ सय ५० दिएको थियो ।

 गाउँपालिकाबाट दुई लाख ३४ हजार  ७७६ समेत थप गरेर १५ लाख ५६ हजार ४२६ रुपैयाँ गत असारमा भुक्तानी भएपनि अहिलेसम्म कागती खेती शुरु नभएको हो । 

गत भित्रै काम सम्पन्न गरेर रकम लिनुपर्ने भएपनि  मन्त्रालय र गाउँपालिकाले आयोजनाको कामको अनुगमन र मूल्याङ्कनसमेत नगरी नक्कली कागजपत्र बनाएर काम पूरा नभएको योजनाको भुक्तानी दिइ रकम बाँडीचुँडी गरेको स्थानीयको आरोप छ । 

तर रकम भुक्तानी भएको पाँच महिनासम्म खाली जमीनमा खाल्डा मात्र खनेर छाडीएको छ । 

समितिका सचिव चुराबहादुर कुँवरले नै आयोजनामा आएको बजेटको बारेमा आफूलाई थाहा नभएको बताए । 
“गाउँपालिका र प्रदेश सरकारले १५ लाख दिएको हो भन्ने सुनिन्छ, वास्तविकता कसैले भन्दैनन्”, उनले भने,“सबै काम समितिका अध्यक्षले गर्नुहुन्छ, हामीलाई पत्तै हुँदैन ।”

तर समितिका अध्यक्ष विष्णु पौडेलले भने थोरै काम बाँकी भए पनि धेरै काम पूर्ण गरिएको बताउँछन् । रु एकलाख मात्र बचत रहेको र आफूले समितिका सबै पदाधिकारीसँग समन्वय गरेर काम गरेको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले काम सम्पन्न भएपछि नै भुक्तानी हुनुपर्ने बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया