मिचिँदै सामुदायिक विद्यालयको जग्गा

४ बर्ष अगाडि

गोकर्णेश्वर नगरपालिकाको वडा नं २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेको छ । 

  विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि विद्यालयको जग्गासमेत  मिचिएको छ  ।  पुर्जामा विद्यालयको २० रोपनी जग्गा छ । भोगचलनमा आधाजति जग्गा मात्र देखिन्छ । अहिले सुकुम्वासीदेखि स्वास्थ्यचौकीसम्मको भवन बनाउने ठाउँ विद्यालयले नै दिनुपरेको अवस्था छ ।

सामुदायिक विद्यालयका नामको जग्गा वरिपरिका जग्गाधनीले अलिअलि गरी काट्दै जाँदा यस्तो अवस्था आएको  वडा नं २का वडाध्यक्ष कृष्णबहादुर पण्डितले वताए । उनले भने “यसरी मासिँदै गएको जग्गा संरक्षणका लागि नगरपालिकाले सार्वजनिक, पर्ती जग्गा संरक्षण समिति गठन गरेको छ, वडास्तरीय समिति पनि गठन भएकाले सबै सार्वजनिक एवं पर्ती जग्गा संरक्षण गर्न लागिएको छ”,उनले भने । 

बीचमा गारेटो बाटो थियो । शहरीकरणसँगै सडक निर्माण गर्न थालेपछि स्थानीय आफ्नो जग्गा दिएनन् । साविकको नयाँपाटी गाविसको वडा नं ४, ५ र ६ वडामा विद्यालयको नाममा जग्गा थियो । विद्यालयका नाममा सात कित्तामा २० रोपनी जग्गा रहेको प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिए । विद्यालयमा हाल ४६० छात्र छात्रा अध्ययन गर्दछन् । 
 
धेरैले सामुदायिक विद्यालयको जग्गाका बारेमा मतलब नै गर्दैनन् । नगरपालिका, नापी कार्यालयलगायत सरकारी निकायसँग समन्वय गरी विद्यालयका नाममा रहेको जग्गा फिर्ता गराउने अभियानमा लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज चालिसेले जानकारी दिए । । नगरपालिकाले पनि नगरपालिकास्तरीय सार्वजनिक एवं पर्ती जग्गा संरक्षण समिति गठन गरी नापजाँच शुरु गर्ने तयारी गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया