एचआइभीको पीडा भोग्दै ५२ महिला

५ बर्ष अगाडि


दैलेख – दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका लागि भारत जानुभएका श्रीमान्लाई एचआइभी संक्रमणले सताएपछि उपचारकै क्रममा उहाँको मृत्यु भयो । 

श्रीमान्कै कारण आफू पनि एचआइभी संक्रमणमा परेर समस्यामा पर्नुभएकी उहाँलाई छोराछोरीको लालनपालनमा समस्या छ । जेठी छोरीको बिहे भए पनि आफूसँग रहेको छोराको लालनपालनमा समस्या भएकाले बाख्रापालनजस्ता सजिलो व्यवसायमा स्थानीय सरकारले सहयोग गरे जीवन गुजारा गर्न सजिलो हुने उहाँ बताउनुहुन्छ । 

बडुवाल मात्रै हैन एचआइभी संक्रमण भएर श्रीमान् गुमाएका करिब ५२ महिला राकममा छन् । अधिकारप्राप्ति र समाजमा गरिने भेदभाव विरुद्ध लड्न आफूहरू संगठित हुनुपरेको उनीहरूको भनाइ छ । संगठित भएर आवाज अठाउन थालेपछि अहिले एआरटी औषधि राकम कर्णाली स्वास्थ्य केन्द्रबाटै उपलब्ध भएकाले उनीहरूलाई धेरै सजिलो भएको छ । 
औषधि सेवन गर्नकै लागि सुर्खेत र दैलेख सदरमुकाम धाउनुपर्ने विगतको समस्या अहिले समाधान भएको छ । औषधिसँगै संक्रमित महिलालाई पोषिलो आहार, स्थानीयस्तरमै रोजगारी र व्यवसाय प्रर्वद्धनलगायतमा स्थानीय सरकारले चासो बढाएको आठबीस नगरपालिकाका प्रमुख खड्कराज उपाध्याय जोड दिनुहुन्छ । नगरपालिकाले पोषणमा सहयोग पुगोस् भनेर मासिक रु ५०० का दरले संक्रमितलाई भत्ता उपलब्ध गराउँदै आएको छ । 

संक्रमित भनेर समाजमा हेला हुन थालेपछि आफूहरू संगठित भएको तुलसा माझी बताउनुहुन्छ । ती सबै महिलाका श्रीमान् भारतमै रोजगारीका लागि गएका र एचआइभी संक्रमणले मृत्यु भएको माझीको भनाइ छ । 

जिल्लाको अधिकांश स्थानका बासिन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता पुरानै हो । अहिले स्थानीय सरकारललाई गाउँमै रोजगारी र एचआइभी संक्रमितलगायत थुप्रै समस्यामा परेका नागरिकको जीवनरक्षाबारे पनि चासो बढाउनुपर्ने दायित्व बढेको छ । 
 

––– 

५ बर्ष अगाडि

प्रतिक्रिया