नेपाल ट्रष्टकाे सम्पत्ति गरिब जनताको नासो, पर्यटकका लागि खुला गराैँ

४ बर्ष अगाडि

नेपाल ट्रष्टको आम्दानीलाई आधारभूत शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरेर समाजसेवी गरिने लक्षसहित स्थापित नेपाल ट्रष्टले अहिले सम्म १ पैसापनि ती क्षेत्रमा खर्च गर्न सकेको छैन।

ट्रष्टको आम्दानी भनेकै आफ्नो सम्पत्तिलाई ब्यापारिक भाडा लगाउने नै हो, सरकार वा अन्य कतैबाट अनुदान वा चन्दा पाउने गरेको छैन।

ट्रष्टसंग अस्पताल वा शिक्षालयको भौतिक संरचना र ब्यवस्थापन वा स्थापना गर्न आफूसंग श्रोत पनि छैन।

जग्गा वा भवन कसैलाई भाडा वा लिजमा दिएर संयुक्त लगानी गर्न सकिने मात्र हो।

भाडा वा लिजबाट कमाएको धनलाई शिक्षा वा स्वास्थ्यमा लगानी गर्न थालेर समाजसेवा गरेमात्र स्व पूर्व राजा बिरेन्द्रको सम्पत्तिलाई राष्ट्रियकरण गरी नेपाल ट्रष्ट बनाएको औचित्य सिद्ध हुन्छ।

नभए यी सम्पत्ति बोझ हुने मात्र हो। सरकारका सचिव र ट्रष्टीहरू बगैचे मात्र बनिरहने हो।

ट्रष्टको सम्पत्तिलाई सरकारका निकायहरूले पनि विभिन्न ठाउँमा त्यतिकै हड्पिरहेका पनि छन्। व्यापारिक प्रयोग गर्ने हो भने अर्बौं आम्दानी हुनेमा सरकारले कब्जा गरिरहेको छ।

आम्दानी नगरी ट्रष्टले केही काम पनि गर्न सक्दैन। ट्रष्ट सरकारको होईन, राज्यको धरोहर हो।

ट्रष्टको निजी सम्पत्ति र जग्गामा सरकार र अरूको गिद्धे नजर लाग्दै आएता पनि अझै जोगिएको छ। भविष्यमा यो धरोहर जोगाउने कर्तब्य जनताको हो।

नेता, सरकार वा अरूको त सधैं गिद्धे नजर भएको नै हो।

नेपाल ट्रष्टको जमिन र सम्पत्तिहरुमा रत्नमन्दिर, दियालो बंगलाबाहेक अरू कुनै खास ऐतिहासिक वा पूरातात्विक महत्वका छैनन्।

जे जस्ता छन् तिनबाट अधिकतम आर्थिक लाभ लिने गरी सदुपयोग गर्ने हो र त्यसबाट कमाईएको पैसाले गरिब गुरूवाको स्वास्थ्य र शिक्षा बिकासमा खर्च गरेर समाज सेवा गर्ने हो।

आफ्नो जग्गा तथा भवन नै आफै स्वास्थ्य वा शिक्षामा उपयोग गर्न मिल्ने गरी पर्याप्त कही कतै छैनन्। र संरचना बनाउन लाग्ने अर्बौ धन पनि हुदैन।

दियालो बंगला जंगल नै हो, करिब ७०० रोपनी छ। हेटौडाको दरबार आप, लिचीको बगैंचा हो, जहा करिब ६ बिघा जमिन र सामान्य डिजाईनको घर छ। रत्न मन्दिर ऐतिहासिक धरोहर हो जसलाई पर्यटकलाई खुला गरेर वर्षेनि दशौं करोड आम्दानी गर्न सकिन्छ।

यी तिनवटा स्थानलाई प्लान गरेर सबै खाले बहुउपयोग गरेर अर्बौंको आम्दानी गर्न सकिन्छ जसबाट आर्जित धनले गरिबलाई सपोर्ट गर्न संभव हुनेछ।

नुवाकोटमा पनि यस्तै २-३ सय रोपनी जंगल र माछापोखरी छ, जो उपयोगबिहीन छ, कुनै कामका लागि लिजमा दिए हुन्छ। ताहाचलमा भएको करिब ५०,६० रोपनी जग्गा आलूको मोलमा सरकारले भाडामा लिएको छ । अरू बॉकी सबै टुक्राटुक्री जमिन मात्र हुन्, खासै केही गर्न सकिँदैन।

बिर्सन नहुने कुरा के हो भने नेपाल ट्रष्ट कानुनी ब्यक्ति हो । यस मातहतका सम्पत्ति यसको निजी सम्पत्ति हो, सरकारको हैन।

कसैको निजी सम्मत्तिलाई अरूले दाबी गर्ने, यो गर उ गर भन्न पाईदैन, डिक्टेट गर्न सक्दैन, सरकारले पनि सक्दैन। सरकारले फोकटमा ट्रष्टको सम्पत्ति लिन वा कब्जा गर्न पाउदैन, अधिग्रहण वा राष्ट्रियकरण गर्न पाउदैन।

ट्रष्ट भनेको अक्षय संस्था हुन्छ, मुल धनसम्पत्ति कसैले हरण गर्न पाउदैन, यो सरकारको पनि निकाय हैन। सार्वजनिक ट्रष्ट भएकोले राज्यको निकाय भने हो।

कानुन बनाएर पनि ट्रष्टको जायजेथा मास्न वा यसको सम्पति सित्तैमा हडप्न सरकारले पनि पाउदैन, संसदले पनि पाउदैन।

ट्रष्ट भनेको संबैधानिक कानुनी ब्यक्ति हो र त्यसको सम्पत्ति जहिले पनि अक्षय हुन्छ।

नेपाल ट्रष्टको सम्पत्तिलाई सबैभन्दा बढी गैरकानुनी हडपिरहेको सरकारले नै छ। यस्तो गर्नु अपराध हो। ट्रष्टको सम्पत्तिलाई अधिकतम आर्थिक लाभ हुनेगरी सदुपयोग गरेर आर्जित रकम गरिबको शिक्षा स्वास्थ्यमा लगानी गरी समाज सेवा गर्नु नै ट्रष्टको मूल एवं एकल लक्ष हो।

आजसम्म जनसेवामा ट्रष्टले काम सुरू नगरेता पनि निजी क्षेत्रबाट नेपाल ट्रष्टको संचालक समिति सदस्य बनेकाहरूले पनि कर्मचारी सहसचिब सरहको मासिक तलब भत्ता र अन्य सुबिधा पाउने गरी संचालक समितिले निर्णय गरेको छ।

आफै गरिब र कुनै खास काम नै नहुने, भएका कर्मचारीहरूले नै बिनाकाम घाम तापेर समय कटाउनुपर्ने ट्रष्टमा यदाकदा परेको बेलामा एकाध घण्टा बर्षमा १,२ चोटी संचालक समितिको बैठक बस्न उपस्थित हुने बोर्ड सदस्यलाई पनि होलटाईमर कर्मचारी जस्तै नियमित तलब खुवाउनु स्वेत भ्रष्टाचार हो।

यस्तो काम सायद नेपालको अरू कुनै संस्थाले आजसम्म गरेका छैनन् होला। अख्तियारले यस्तो दुरूपयोगको छानबिन गर्नुपर्छ ।

नेपाल ट्रष्टका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेल र पर्यटन मन्त्री योगेश भट्टराईले ट्रष्टको धरोहरलाई सदुपयोग गर्न अग्रसरता लिनु ठिक हुन्छ। किनभने, नेपालका राजपरिवारका दरबारहरू जिउदा ईतिहास र धरोहर हुन्। तिनलाई संरक्षण र सम्बर्धन गर्दै सर्वसाधारणहरूका निम्ति खुला गर्नु सबैका निम्ति लाभकारी हुन्छ।

नेपाल ट्रष्टको स्वामीत्वमा रहेको पोखराको रत्न मन्दिर, भरतपुरको दियालो बंगला दरबार र हेटौडाको कान्ति ईश्वरीय दरबारलाई स्वदेशी तथा बिदेशी पर्यटकलाई स:शुल्क पर्यटन अवलोकनका लागि भिजिट नेपाल वर्ष २०२० सुरू हुनासाथ खुला गर्न सकिन्छ ।

पोखराको रत्न मन्दिर खुला गर्न दरबार परिसरमा सिसिटिभी जडान, रेष्टरूम र शेडहरू ४ वर्ष अघि नै बनाई तयारी पूरा गरिसकिएको, टिकटहरू पनि छापिसकेको तर त्यसबेला प्रवेश आरम्भका लागि उद्घाटन गर्न चुनावका कारण आचार संहिताले संभव हुन सकेको थिएन। ट्रष्टको कार्यालयमा टिकटका ती ठेलीहरू अहिले पनि हुनुपर्छ।

पर्यटन मन्त्री र ट्रष्टका अध्यक्ष उपप्रम ज्यूहरूले नयॉ वर्ष २०२० को अवसर पारेर अबिलम्ब ती दरबारहरूलाई पर्यटकका लागि खुला गरिदिँदा जनता र विदेशीहरू खुशी हुने, ट्रष्टको आम्दानी पनि ह्वात्तै बार्षिक करोडौं बढ्ने, भिजिट वर्षले पनि भब्यता पाउने छ। आशा छ, ट्रष्टले देशहितमा यो पहल अबिलम्ब गर्नेछ।

यस पंक्तिकार नेपाल ट्रष्टमा कार्यरत हुदा त्यहॉ गरिएका नयॉ कामहरू, ट्रष्टका हितमा भएका कामहरू, भावी कार्यदिशा र योजनाहरूको बारेमा टिभी, पत्रपत्रिकामा पटक पटक समाचार लेख र अन्तरवार्ता दिने गरेको थिए। त्यो बेलासम्म जनताको नजरमा निदाईरहेको महत्वहिन ट्रष्टले मिडियामा निकै सकारात्मक चर्चा पाएको थियो। तर, अहिले पनि ट्रष्टको चर्चा त छ तर दु:खद नकारात्मक हुदैछ।

ट्रष्टले आफ्नो अचल सम्पत्तिको ब्यावसायिक अधिकतम् उपयोगको काम गरेर गरेको आम्दानीलाई नै हो शिक्षा स्वास्थ्य जस्ता समाज सेवामा लगाउने हो। आफै भौतिक संरचना तथा संस्था चलाउन स्थापना गर्न, निर्माण गर्न, बनाउन उसंग त्यति धेरै चल धन नै हुदैन। तर राज्यको सम्पति विधिवत, पारदर्शी र अधिकतम उपयोग गरिएको बारे सरकारले सबैलाई ढुक्क बनाईरहनुपर्छ।

हल्ला जति गरे पनि नेपाल ट्रष्टमा स्व राजा विरेन्द्र र परिवारको सम्पत्ति खासै होईन। ती सम्पत्तिबाट खासै ठूलो धेरै आयआर्जन भईरहेको पनि छैन।

गोकर्ण रिसोर्ट भएको स्थानमा गोल्फ चउर, जंगलसहितको करिब ४ हजार रोपनी जग्गा छ। पोखरा रत्नमन्दिर र वरपर करिब २ सय रोपनी जग्गा छ। भरतपुर चितवनमा दियालो बंगला दरबारसहित करिब ७०० रोपनी जंगल छ।

हेटौडामा ५,६ बिघाहा जग्गासहितको सामान्य घर छ। अरू एकाध रोपनी जग्गाकै प्लटहरू बिभिन्न जिल्ला वा ठाउमा छरिएका कुनै उपयोग नभइरहेका छन्। ऐतिहासिक महत्वको भनेको रत्न मन्दिर, दियालो बंगला र हेटौटा दरबार मात्र हुन सक्छन्।

यी जग्गा जमिनबाट खासै आम्दानी छैन, न कमाउने तरिकाले अहिलेसम्म कुनै आर्थिक परिचालन गरिएको छ। राजाकै पालामा भाडा वा लिजमा लगाइएका केही भवनहरूको भाडा वा लिजबाट वर्षेनि अहिले करिब रू ४,५ करोड आम्दानी भइरहेको होला। अहिलेसम्म करिब रू सवा अर्ब नगद त्यतिकै बैंकमा जम्मा छ र त्यतिकै रहेको छ।

स्व बिरेन्द्रको अपुताली ट्रष्टको बगैचे बनेर सरकार बस्ने होईन। यसलाई अधिकतम ब्यापारिक एवं ब्यावसायिक प्रयोजनमा सदुपयोग वा परिचालन गरेर मनग्गे धनार्जन गर्दै गरिब जनताको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरी ट्रष्टले जनताको मन जित्नु पर्छ।

स्व राजा बिरेन्द्रको सम्पत्तिबाट जन्मेको ट्रष्टको सम्पत्ति र आम्दानी गरिब जनताको नासो हो । शिक्षाप्रेमी स्व बिरेन्द्रको सम्पत्ति गरिब जनताको शिक्षामा सदुपयोग होस् ।

उापाध्याय नेपाल सरकारका पूर्व सचिव हुन । 

४ बर्ष अगाडि

प्रतिक्रिया