चाेरीका गीत बिक्री प्रकरण : म सरकारी अधिकारी हुन्नथेँ भने म्युजिक नेपालमा आगो लगाउथेँ

माघ १, २०७६ | डा.नवराज लम्साल
ajaako_artha

पालका पुराना गीत संगीत म्युजिक नेपाल लगायतका विभिन्न कम्पनीहरुले विभिन्न व्यवसायीक प्रयोजनमा प्रयोग गरेर गैरकानुनी काम गरेको कुरा अहिले चर्चामा छ । यसविरुद्ध कानुनी प्रक्रियाका लागि कलाकारहरुको दवाव पछि रेडियो नेपालले प्रक्रिया सुरु गरेको छ । यसै सन्दर्भमा रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख डा.नवराज लम्सालको धारणाः 

रेडियो नेपालमा २०१६ सालदेखि गीत रेकर्डिङ सुरु भएको हो । त्यो भन्दा पहिला गीतहरु लाइभ नै प्रसारण हुने गर्थे वा रेडियो नेपालले स्रष्टाहरुलाई पैसा दिएर भारतमा डिक्स रेर्कड गर्न पठाउने चलन रहेको थियो । उहाँहरुले गएर डिक्स रेर्कड गराएर ल्याउनुहुन्थ्यो,अनि त्योचाहिँ हामी रेडियोमा बजाउथ्यौँ ।

रेडियो नेपालमा पहिलो पटक (२००७ साल) गीत गाउने हरि प्रसाद रिमाल हुन् । उनैलाई रेडियो नपालको पहिलो गायक मानिन्छ ।  मेरो दिलको टुक्रा पारेर आँखाको बाटो भएर भन्ने गीत रेडियो नेपालमा लाइभ गाएको पहिलो गीत हो ।

धेरैपछि पहिलो चोटी गाउने गायिका चाहिँ रानुदेवी अधिकारी हो जो अहिले पनि जिवित हुनुहुन्छ । विराटनगरमा हुनुहुन्छ ।  हरिप्रसाद रिमाल केही  समय अघि मात्रै बित्नु भयो । उहाँहरुले गीत त्यतिबेला लाइभ गाउनुभयो, पछि कुनै कालखण्डमा त्यही गीत रेकर्ड पनि भयो । 

ती गीत संगीत राख्न हामीले प्रयोग गरेको सबैभन्दा सुरुको प्रविधि डिक्स हो ।  त्यसपछि स्पूल टेप भन्न थालियो । अलि सजिलोका लागि एउटा कार्डमा एउटा गीत  राख्ने मिल्ने कार्टिजबाट बजाइयो । अनि क्यासेट सिडीहरु बजाइयो, अनि अहिले त अरुनै प्रविधि छँदैछ ।

पुराना गीतको स्वामित्व रेडियो नेपालसँग किन ?

रेडियो नेपालले पहिले सुरुको अवस्थामा जसरी बाहिर पठाउँथ्यो वा रेडियो नेपालमा पनि रेर्कड भए, ती गीतहरुको स्वामित्त्व चाहिँ रेडियो नेपालकै हुन् । नेपालमा तिनताकासम्म गीत रेर्कडिङको कुनै स्टुडियो थिएन । रेडियो नेपालमा मात्रै गीत रेर्कडिङ हुन्थ्यो अनि अलि अलि कलकत्तामा गएर डिक्स रेकर्डिङ गर्ने चलन थियो । प्राइभेट स्टुडियो बनेको त धेरै पछि २०४६ पछि मात्र हो । 

२०१६ सालदेखि २०२४ सालसम्म गीत रेर्कड गर्न र बजाउन पनि रेडियो नेपाल मात्र थियो । रेडियोले कलाकारसँग एउटा करार गथ्र्यो । त्यसकै आधारमा कलाकारलाई पैसा दिइन्थ्यो । तिनताका गीत रेर्कड हुँदाखेरी रचनाकार,संगीतकार, गायकले पनि पैसा पाउँथे अनि रेडियो नेपालमा रहन्थ्यो । 

प्रतिलिपी अधिकारको कानुन त बनेको थिएन तर पनि त्यसबेला पैसा नदिइकन रेर्कड हुँदैनथ्यो । उनीहरुले पारिश्रमिक  लिएर गीतहरु गाउँथे, घर जान्थे । रेडियो नेपालमा त्यो गीत सुरक्षित रहन्थ्यो । ती गीतहरु रेडियो नेपालको स्वामित्त्वमा रहे । 
 
त्यतिबेला हरिप्रसाद रिमाल, रानुदेवी, अरुणा लामा, तारादेवी, गोपाल योञ्जन, नारायण गोपाल, भक्तराज आचार्य,  प्रेमध्वज प्रधानलगायत जतिले पनि गाए, ती सबैले रेडियोको स्टुडियो मै गाए  । त्यो चाहिँ सार्वजनिक सम्पत्ति हो । सबैको सम्पत्ति हो । देशकै सम्पत्ति हो । नारायण गोपाल सबैको हो, तारादेवी, अरुणा लामा सबैको हो भन्ने पनि सोच्यो रेडियोले । 

अहिले चाहिँ त्यही कलाकारहरुको नाममा कोषहरु बनिरहेका छन् । ती कलाकारहरुको नाममा विभिन्न संघसस्थाहरु पनि बनेका छन् र रेडियो नेपाल पनि छ ।

... त्यसपछि गीत चोरी भए ​
हिजो डिक्स थियो, त्यसपछि स्किल टेप आयो, त्यसपछि कार्टेज आयो अनि क्यासेट आयो अनि सिडी आयो र अहिले डिजिटल भर्सनमा  गीतहरु छन् ।

यसैगरी प्रविधिले अर्को ठाउँमा फड्को मार्ला । फड्को मारेपछि पनि त्यो प्रविधिमा जानलाई सजिलो हुने गरी गीतहरु सुरक्षित राख्नका लागि  हाम्रो टीम क्रियाशील छ ।

कार्टेजहरुमा भएका पुराना गीतहरु लाई कार्टेजहरु खोजेर स्पूलहरु खोजेर, धुलो पखालेर पुछेर त्यसलाई डिजिटल फम्र्याटमा सारिरहेका छौँ ।

पुराना अडियोहरु, गीतहरु, भाषणहरु जे जति छन् तिनीहरुलाई आर्काइभ गरेर राखिरहेका छौँ । अझै अर्को प्रविधि आयो भने पनि त्यसलाई जोगाएर राख्न सक्ने प्रयोजनका लागि काम गरिरहेका छौँ ।

यो राज्यको अमूल्य निधि हो, सम्पत्ति हो भनेर काम गरेका छौँ । तर निजी कम्पनीहरुले आफूखुसी बेचिखाएको छन् ।

यी गीतहरु बज्ने बजाउने प्रबर्द्धन गर्ने जस्तो एउटा कुरा होला तर त्यही गीतलाई पेनड्राइभहरुमा हालेर व्यवसाय गर्दा न ती कलाकारहरुको मुखमा जाने न रेडियो नेपाललाई हुने । जसको स्वामित्व हो,  दुःखका दिनमा रेर्कड ग¥यो, उत्पादन ग¥यो त्यही रेडियो नेपाललाई थाहा नै छैन।

लेख्ने गीतकार कहाँ छन्, संगीतकार कहाँ छन्, गायक गायिका कहाँ छन्, थाहा छैन । जसको सिर्जना हो उसैलाई थाहा छैन । उत्पादन गर्नेलाई थाहा छैन । कुनै बाटोबाट लगेर एउटा म्युजिक कम्पनीले वा व्यवसायीले व्यवसाय गरेर आाजको दुनियामा लाखाैं, अर्बाैं कमाउने भन्ने कुरा त न्याय संगत पनि नहोला ।

त्यसका लागि अलि व्यवस्थित गर्नु पर्छ भनेर रेडियो नेपाललमा बिभिन्न संस्थाहरुले  बाहिर पनि आवाज उठाइरहेछन् । रेडियो नेपालभित्र पनि के गर्न सकिन्छ भनेर कोसिस गरेर निश्चित दायरामा ल्याउछौँ ।

त्यो भन्दा पनि हामीलाई ती गीतहरुको संरक्षण पनि एउटा कुरा हो । अर्को कुरा दिनदाहाडै कस्तो भयो भने एउटा कलाकारको सिर्जना उत्पादनकर्तालाई थाहा नभएरै एउटाको सिर्जना अरु कसैले खाइराको यो लोकतान्त्रिक  मुलुकमा सुहाउँदो पनि हैन । त्यसबाट जति आउँछ त्यो आएको पैसा सबैले पाउन पाए सबैलाई दिन पाए धेरै राम्रो हुन्छ । 

याे पनि पढ्नुहाेस् : सरकारी गीत चोरेर करोडौंको गैरकानुनी व्यापार, म्युजिक नेपाल विरुद्ध रेडियो नेपाल   

रेडियो नेपालका लाखौँ गीतहरु युटवमा छन्, लाखौँ मान्छेले हेरेका छन्, कसले राखेको हो ? त्यस कुराको खोजी हुन पनि जरुरी छ । यी सबैका लागि सार्वजनिक सूचना अपील गर्ने अनि त्यस पछि कानुनी प्रक्रियामा जाने हाम्रा अन्य केही कामहरु पनि भाएका छ ।  

टीम बनाएर छलफल पनि भा’छ धेरै संघसंस्थासँग पनि औपचारिक रुपमा कुराकानी भएको छ । उनीहरुले हामीले केही गीतहरु दिएका हाैँ, गरेका हौँ भनेर आवश्यक पत्रचार पनि भा’को छ । 
र, सँगसँगै गीतकार संघ, संगीतकार संघहरुले पनि यसलाई औपचारिक रुपमा पहल गरेका छन् ।

तपाईँहरुले के गरिरहनु भएको छ ? भनेर रेडियो नेपाललाई सूचना माग गरेको अवस्था पनि छ । यी सबै कुरालाई हेर्दा एउटा निश्चित निकास निस्कन्छ होला भन्न्नेमा हामी आशावादी छौँ । 

माफियाले गीत चोरेर आफू अनुकुल गर्न खोज्दैछन्

रेडियो नेपालको स्टूडियोमा रेकर्ड हुनु नै रेडियो नेपालको स्वामित्त्व हो भन्ने कुराको आफै प्रमाण हो । ४० साल ४२ सालमा खोलको म्युजिक कम्पनी रेकर्डिङ स्टूडियोहरुले यो गीत मेरो हो भनेर दावी गर्न सक्दै सक्दैनन् । 

४० सालमा जन्मेको छोरो ००७ सालमा जन्मेको बाउको त छोरो नै हो नि । बाउ भन्दा ४० सालपछि जन्मेकोले म चाहिँ बाउ हो तँ छोरो हो भनेर कसैले पाउँदैन नि, हो त्यस्तै खालको पनि भएको छ । स्रष्टाहरु पनि जागिरहेका छन् । 

अझ छुट्टै शब्दमा भन्ने हो भने संगीतमा केही माफियाहरु छन् । ती माफियाहरुले आफू अनुकुल गर्न खोजेका छन् । धेरै स्रष्टाहरु रुष्ट भएका छन् । मैले पछिल्लो वाक्य चाहिँ रेडियो नेपालको कार्यक्रम महाशाखाको प्रमुख भएर बोलेको होइन । म आफै पनि गीतकार भएर बोलेको हुँ । 

चोरीएका गीतको बारेमा के हुँदैछ ?
हामी आन्तरिक रुपमा केही वर्षदेखि हामीसँग भएको सामग्रीलाई डिजिटलाइज गर्ने काम गरिहेका छौँ । स्पुलमा, कार्टेजमा भएको भएको गीतहरु बजाउन मेसिन पाइँदैन । ओपन रिङ टेपरिकर्डर (ओआरटी) पाइन्छ । 
कार्टेज प्ले गर्ने मेसिनहरु पाइँदैनन होला अब । रेडियोमा भएका पनि पुराना भए, थोत्रा भए, गए । त्यो प्रविधिमा रेकर्ड पनि हुँदैन । त्यसकारण पुरानो प्रविधिमा भएको सामग्रीलाई पछि सार्न नसकिएला भनेर पछिल्लो प्रविधिमा सारेर सुरक्षित गर्ने तर्फ हाम्रो ध्यान केन्द्रित रह्यो । र अहिले त्यो काम गरेर सकिन थालेपछि कानूनी बाटोमा लाग्न थालिएको हो । 

रेडियो नेपालको आफ्नै स्टुडियोमा रेकर्ड भएका, रेडियो नेपालले भारतका विभिन्न शहरहरुमा तिनताका रेकर्ड गर्न पठाएका वा बाहिर आफै रेकर्ड गरेर रेडियो नेपाललाई गीत बजाउन दिएका यो गीत प्रकारका स्रोतका गीतसंगीत छन् हाम्रा । 

हामी टीम बनाएर यी सबै गीत कति छन् खोजिरहेका छौँ । हामीले अहिले झण्डै ४० हजार गीत डिजिटलाइज गरिसकेका छौँ पछिल्लो चरणमा मात्रै । त्यो भन्दा पहिला पनि डिजिटलाइज भएका छन् । 

कसरी चोरी भए भन्ने विषय छानविनको विषय हो । यसैगरी बाहिर गयो होला भन्न सकिने अवस्था छ। अहिले खोजीकै सन्दर्भ रहेको हुनाले पनि रेडियोको स्वामित्त्वको गीतहरु बाहिर उनीहरुले व्यवसाय गर्न पाउँदैनन् । 
हाम्रो पुस्ताले केही गर्नुपर्छ भनेर हामी लागेका छौँ र रेडियोमा अहिले एक किसिमको राम्रो वातावरण पनि बनेको छ । अघिल्लो पुस्ता र पछिल्लो पुस्ताको गीत संगीतलाई हेर्ने दृष्टिकोण र कानुनी अधिकारलाई हेर्ने दृष्टिकोणमा अलिकति फरक पनि आउने रहेछ । 

अहिले सबैजना हामी केही गरौँ भनेर लागिरहेका छौँ । एकप्रकारले सुखद यात्राको सुरुवात भएको छ भनेर धेरै अग्रज स्रष्टाहरुले पनि भन्नुभएको छ । 

म्युजिक नेपाल फटाहा : यसरी गर्छ ठगी

अहिले धेरै कलाकारहरु पनि ठगिएका छन् । कसरी भने एउटा कलाकारसँग हार्दिक सम्बन्ध हुन्छ । त्यो कलाकारले एल्बम निकाल्न लाग्दा तिम्रो गीत मलाई देउ म गाउँछु भन्छ । त्यतिराम्रो कलाकारले गाएपछि मेरो गीत राम्रो हुन्छ भनेर गीत दियो ।

अनि लाष्टमा एल्बम निकाल्ने तयारी भएर भोलि विमोचन छ भन्ने भएपछि अघिल्लो दिन त्यसको कपिराइट, सीआरबीटी, पीआरबीटी, यसको डिजीटल प्लेटफर्ममा हुने सबै कुरामा म कहिले हकदावी गर्ने छैन भनेर बुच्चर शैलीमा कागज गराउँछ । 

अनि मान्छेको भावना र विश्वास सम्बन्ध सबैभन्दा ठूलो कुरा हो । व्यापार भन्दा सम्बन्ध माथि हुन्छ । मष्तिष्क भन्दा हृदय माथि हुन्छ । भोलि एल्बम विमोचन हुन लागेको छ, त्यो कलाकार रुन लागेजस्तो गर्छ ।

नि म्युजिक कम्पनीले घाँटीमा सुर्कने तेस्र्याउँछ । अनि मलाई केही पनि चाहिँदैन भनेर सही गरेन भने उसको एल्बम निस्कँदैन । यसरी जानीजानी नेपालका सारा मान्छेहरुले सही गरेका छन् । त्यसमध्ये म पनि हुँ । एउटा नेपालमो संगीतको मामिलामा सबैभन्दा ‘फटाहा संस्था म्युजिक नेपाल’ भन्ने छ । 

तपाईँ कल्पना गर्नुस्, रामकृष्ण ढकाल मेरो साथी । रामकृष्णले एल्बम निकाल्न लागेर रेडि भएको बेलामा मलाई कुनै पैसा चाहिँदैन भनेर सही गराउँछ । रुन नि सकिँदैन, भोलिपल्ट रामकृष्णको एल्बम रोक्न पनि सकिँदैन । म आफैले गरेको छु । सबैले गरेका छन् । नगर्ने कोही छैनन् । वास्तवमा त्यसरी बाध्यतामा पार्दै गर्दै गरेका छन् ।

त्यसमाथि म्युजिक नेपालको वेभसाइटमा हेर्नुभयो भने पैसा त दिँदैन, दिँदैन रचनाकार संगीतकारको नामधरी राख्दैन । वास्तवमा भन्ने हो भने आर्थिक मात्र होइन धेरै ठूलो नैतिक शोषण समेत भएको छ । 

म्युजिक नेपालसँग त किसिम किसिमका पत्र छ, होला । त्यो भनेको लेखन्दास अफिसको सबैभन्दा क्रुर लेखन्दास भन्दा कम छैन । मेरो उमेर ५० वर्ष नभइदिएको भए, म ४ वर्षको नातिनीको हजुरबाउ नभएको भए र सरकारी स्टेशनको जिम्मेवार अधिकारी नभएको भए म्युजिक नेपालमा आगो लगाउनुपर्छ भन्ने मान्छे हुँ म । फेरि भन्छु – म ५० वर्ष उमेरको नभएको भए र सरकारी अफिसको जिम्मेवार अधिकारी नभएको भए म म्युजिक नेपालमा आगो लगाइदिन्थेँ । 

ठूलो क्रान्तिको जरुरी छ 
‘यो नेपाली शीर उचाली...’ भन्ने गीत प्रेमध्वज प्रधान र तारादेविले गाए । प्रेमध्वज जिउँदै हुनुहुन्छ, तारादेवी पनि ज्युँदै हुँदै उहाँहरुलाई एकबचनसम्म नसोधी त्यो गीत अर्कैको स्वरमा रेकर्ड गरेर लैजान पाउँछ ? यो कुन न्यायिक देश हो ? यहाँ चोरी गर्न पाइन्छ भनेर साइनबोर्ड राखेरै आफै चोरी गरेजस्तो छ । यो बडा गहिरो समस्या छ। 

उनीहरु अघिल्लो पुस्ताले भन्न पनि सकेनन् । यो त ज्यूँदै मान्छेलाई म¥यो भनेजस्तो अवस्था छ यहाँ त। 

बौद्धिक अधिकारको कुरा हो । आफै लगानी गरेको कुरा हो । निश्चित समयको लागि उसको स्वामित्त्व हुनसक्छ । त्यसको सम्झौता निश्चित समयको लागि हुनसक्छ । तर आजीवन, सँधैभरीको लागि भन्ने हुँदैन, म्युजिक नेपालले त्यो गरिरहेको छ ।

त्यसैले गीत संगीतको क्षेत्रमा ठूलो आन्दोलनको जरुरी छ । ठूलो क्रान्तिको जरुरी छ । माफियाहरुविरुद्ध आगो बाल्न जरुरी छ । 

गीतकार संघ र संगीतकारसंघ साँच्चै यो अभियानमा लागेको छ । उहाँहरु रेडियाे नेपालमा आएर उच्च व्यवस्थापनसँग संवाद पनि गरिरहनुभएको छ, छलफल गरिरहनुभएको छ । 

उहाँहरुले पनि केही योजना बनाउनुभएको छ । स्रष्टाहरु जुर्मुराएका छन् । मलाई अनौठो के लागेको छ भने पुराना स्रष्टाहरुको तुलनामा युवाहरु जुर्मुराएका छन् । 

पुरानाहरुले त भैगो छाड्देउ, खाए नि खाओस् खान देउ भन्नेजस्तो खालको कुरा गरेका छन् तर नयाँहरु जुर्मुराएका छन् ।  आशा गरौँ भोलिका दिनमा माफियाको व्यवसायबाट गीतसंगीत जोगिने छ । (कुराकानीमा आधारित)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.७३११४.३३
European Euro१२६.१७१२६.८४
UK Pound Sterling१४९.२७१५०.०६
Swiss Franc११७.४३११८.०४
Australian Dollar७८.११७८.५२
Canadian Dollar८६.४३८६.८९
Singapore Dollar८४.२९८४.७३