भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

४ बर्ष अगाडि


नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा विजयी शुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखप० को कभर्ड हलमा केहीबेर अघि सम्पन्न पुरुष भलिबलमा आर्मीले आरजे भलिबल ग्रुपलाई ३–० सेटले पराजित गरेको हो । आर्मीले आरजे गु्रपलाई २५–९, २५–१६ र २५–९ अङ्कले हरायो । जितसँगै आर्मीले दुई अङ्क जोडेको छ । प्रतियोगितामा पुरुषतर्फ ११ तथा महिलातर्फ सात टोलीको सहभागिता छ । पुरुषतर्फ अहिले सशस्त्र प्रहरी बलको एपिएफ क्लब र रारा बुलबुले क्लबबीच खेल भइरहेको छ । 

महिलातर्फ आजै होङ्गवाञ्जी न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । पुरुष भलिबलमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

चारै समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । पुरुषतर्फको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, आरजे भलिबल ग्रुप र नयाँ बजार सामाजिक क्लब, समूह ‘बी’ मा एपीएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, समूह ‘सी’मा नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब तथा समूह ‘डी’ मा हेल्प नेपाल स्पोर्टस् क्लब र बुद्धटोल युवा भलिबल क्लब छन् ।

 यस्तै महिलातर्फ समूह ‘ए’ मा एपीएफ क्लब, आर्मी क्लब, जाउलाखेल र भरतपुर महानगर तथा समूह ‘बी’मा न्यु डायमण्ड स्पोर्टस् क्लब, पुलिस क्लब र ढोरपाटन स्पोर्टस् क्लब छन् । दुवै समूहका शीर्ष दुई÷दुई टोली सेमिफाइनल पुग्नेछन् ।

पुरुष तथा महिला भलिबल विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही रु २५  हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया