कलाकार बचाउन चन्दा उठाउँदा फेला पर्‍याे नेपाली गीतको अर्बौंको कारोबार

४ बर्ष अगाडि

नेपालमा सयौँ गीत गाएका कलाकार जब बिरामी पर्छन, कसरी उपचार गर्ने भनेर चिन्ता शुरु हुन्थ्यो संगीतकार लक्ष्मण शेषलाई । कहिले बिरामी कलाकारको उपचारका लागि चन्दा उठाउने, कहिले मृतकको दाहसंस्कारको लागि सहयाेग माग्दा हैरानी जस्तै थियो ।  

संयोग, २०७१ सालमा मा जब उनी संगीतकार संघको अध्यक्ष निर्वाचित भए,  अब कहिल्यै कलाकारको उपचारका लागि चन्दा उठाउन नपर्ने गरि संगीत बैंक बनाउने सोँच पलायो । अनि आफ्नी आमाको सम्झनामा ३८ हजार रुपैयाँ राखेर अभियान शुरु गरे । १० करोड पुर्‍याउने लक्ष्य राखिएको कोषका लागि कसरी पैसा जुटाउने भनेर खोज्दै जाँदा एउटा सानो कागजको टुक्रा हात पर्‍याे । जसले बतायो ‘नेपाली गीतसंगीत चोरेर विश्वका धेरै देशमा अर्बौंको ब्यापार भइरहेको छ ।’ 

त्यसपछि भने उनको जिम्मेवारी थपियो, चोरी भैरहेको त्यो अर्बौंको कमाई अब वास्तविक स्रष्टाको हातमा ल्याउने । अर्को कार्यकाल जब संघको अध्यक्ष निर्वाचित भए ‘म्युजिक कम्पोज’मा सोँचमग्न हुने उनको दिमाग ‘म्युजिक बैंक’, संगीत आश्रम, गीतको ‘अर्काइभिङ्ग’ लगायतका योजनापट्टी केन्द्रित भयाे । बाजाहरुमा चल्ने उनका औंला नेपाली गीत बज्ने विश्वभरीका ‘स्ट्रीमिङ्ग एप्लीकेशन’, ‘म्युजिक एग्रीगेटर’, ‘रीङ्गब्याक टोन’ प्रदायक र ‘मोवाइल एप्लीकेशन’ खोज्नपट्टी लागे ।  

नेपाली सांगीतिक क्षेत्रका व्यक्तित्वहरुका लागि सदाबहार खुसी ल्याउने गरि जब उनले धेरै तथ्यहरु फेला पारेर सुनाए, सांगीतिक क्षेत्रका दलालहरुलाई त्यो कुरा पाच्य भएन । संघको नेतृत्वबाट हटेसँगै ३५ लाख रकम पुगेको म्युजिक बैंक, काठमाडौंको साँखुमा नेपाली सेनाले बनाइदिने बचन दिएकाे ५० घर सहितकाे आश्रम र अकाइभिङको योजना भविष्यका लागि थाती राखेर 'संगीतचोर'हरुको खोजी अभियानमा लागे। 

‘यो बीचमा संगीतकर्मी साथीहरुबाटै कति उल्झन भोगेँ, त्यो त यो अभियान सफल भएपछि बताउँला तर अहिले धेरै तथ्य पत्ता लागेको छ, जसबाट नेपाली संगीतकर्मीलाई उपचार नपाएर मर्नु पर्दैन’, शेष भन्छन् ।

याे पनि पढ्नुहाेस् : सरकारी गीत चोरेर करोडौंको गैरकानुनी व्यापार, म्युजिक नेपाल विरुद्ध रेडियो नेपाल 

दलालहरुको असहयोग रहेपनि उनी सँधै अग्रजहरुको सल्लाह र साथीहरुसँगको छलफलबाट काम गर्थे । नेपालका केही म्युजिक कम्पनीका दलाल बाहेक अन्य धेरैले कलाकर्मीले उनलाई साथ दिए । उनी विशेषगरी यादव खरेल, भक्तराज आचार्य र उनका छोराहरु सत्य, स्वरुप, प्रेमध्वज प्रधान, अम्बर गुरुङ्गका छोरा प्रकाश गुरुङ्गले अद्योप्रान्त सक्रिय साथ दिइरहेका छन् । यसबाट उनलाई काममा उत्साह छ । 

विश्वभरी अर्बौंको ब्यापार नेपाली गीतसंगीतको
जुन विषय खोज्दा धेरै दलालहरुले बिरोध गरे, त्यो कुराले उनलाई खोजीमा रोकेन, बरु थप सशक्त बनायो । त्यसबाट उनले रीङ्गब्याक टोन (आरबीटी), स्ट्रीमिङ्ग एप, डिजिटल पोर्टल तथा अनलाईन सेल्समार्फत हजारौँ गीतको कारोबार भएको पत्ता लगाए । 

१– रिङ्ग ब्याक टोन २८ देशमा : 
मनपर्ने गीत आफूलाई फोन गर्नेहरुलाई सुनाउन मोवाईलमा ‘रीङ्ग ब्याक टोन’ (आरबीटी) धेरै नेपालीले राख्ने गरेका छन् । तर धेरैलाई थाहा छैन, त्यसबापत कति पैसा क–कसले कमाउँछ ।

उनले एनटीसीको सीआरबीटी, एनसेलको पीआरबीटी बारे खोजे । ग्राहकले बुझाउने १२ रुपैयाँमध्ये ५ रुपैयाँ म्युजिक कम्पनीलाई जान्छ । त्यसको रोयल्टी कलाकारले पाउँदैनन् । चर्को बिरोध र आन्दोलनपछि केही सर्जकहरुले त पाए तर गीतमा लगानी गर्ने कम्पनीले अहिलेसम्म पाएका छैनन् । 

त्यो नेपालको मात्र कुरा भयो । तर उनले पत्ता लगाए म्युजिक नेपाल लगायतका केही म्युजिक कम्पनीले विदेशका २८ मोवाईल सेवा प्रदायकसँग यस्तो कारोबार २८ देशमा हुने रहेछ ।

‘नेपालमा आरबीटीको १२ रुपैयाँ संकलन हुन्छ, तर खाडी मुलुकमा त एउटै आरबीटीको १ सय २५ रुपैयाँ संकलन हुँदो रहेछ’, आफूले फेला पारेको तथ्य प्रस्तुत गर्दै उनी भन्छन्, ‘त्यसबापतको रोयल्टी स्रष्टा, सर्जक र लगानीकर्तालाई खोई ?’

२– युट्युवजस्ता स्ट्रीमिङ्ग पोर्टल १२ वटा :
हामीमध्ये धेरैले अहिले गीतसंगीत हेर्ने अनलाईन पोर्टल भनेको युट्युव मात्रै हो भन्ठान्छौं । यो बाहेक अरु पोर्टलबाट धेरै कम नेपालीलाई मात्र थाहा छ ।  

तर लक्ष्मण शेष भन्छन् ‘त्यस्ता एप्स १२ वटा छन्, जसमा यूट्युवमा भन्दा धेरे पैसा आउँछ ।’ उनका अनुसार १० लाख पटक हेरेबापत सबैभन्दा धेरै नेपस्टारबाट १९ हजार डलर अर्थात २१ लाख नेपाली रुपैयाँ आम्दानी हुन्छ । त्यस्तै टाइडलबाट १२ हजार ५ सय डलर, एप्पल म्युजिकबाट ७ हजार ३ सय ५० डलर, गुगलप्लेबाट ६ हजार ७ सय ६० डलर, डीजरबाट ६ हजार ४ सय डलर, स्पोटीफाईबाट ४ हजार ३ सय ७० डलर, अमेजनबाट ४ हजार २० डलर, पाण्डोराबाट १३ सय ३० डलर र युट्युबबाट ६ सय ९० डलर कमाई हुन्छ ।

‘युट्युवमा मात्रै भिडियो राख्नेले त अहिले लाखौंको कारोबार गरेका छन् भने त्यसको २७ गुणा बढी आम्दानी हुने पोर्टलमा कति ब्यापार होला ? अनुमान गर्नुस’, उनी भन्छन्, ‘हामी स्रष्टा बचाउन चन्दा उठाएर हिड्यौं, तर स्रष्टाका गीत चोरेर बेच्नेले खोई कहाँ दिए स्रष्टाको मेहनेतको प्रतिफल ?’

२– भारतको चर्चित एग्रिगेटर ‘बिलिभ’ मार्फत सयौं बितरक कहाँ :
गीत संगीत बेच्ने माथी उल्लेखित पोर्टल मात्र होइनन्, अनलाईन माध्यममा अन्य थोक बिक्रेताहरु छन् जसले सयौं बितरक मार्फत बेच्छन र करोडौं कमाउँछन् । नेपालको म्युजिक नेपालले त्यसबाट करोडौं आर्जन गर्छ ।

तर ती सबै गीत उसले आफै उत्पादन गरेका होईनन् । ५० हजार त रेडियो नेपालबाट चोरीएका छन् । म्युजिक नेपालले पचास हजार नेपाली पुराना गीतसंगीत हामीसँग छन् भनेर अन्तराष्ट्रिय बजारमा प्रचार समेत गरेको छ । जसको प्रमाण शेषले फेला पारे ।

‘तर न ५० हजार गीतको स्वामित्व रहेको रेडियो नेपालले यसबाट केही पायो, न म्युजिक नेपालमा नै गीतसंगीत रेकर्ड गराएका कलाकारले त्यो कमाईको रोयल्टी पाए’, उनी भन्छन् ‘कलाकारलाई निचोरेर ठगीधन्दा भयो ।’

३– सामसुङ्ग लगायतका ठूला मोवाईल कम्पनीकहाँ सिधै विज्ञापन :
लक्ष्मणको अभियान जारी नै थियो । एकदिन उनले आफ्नो मोवाईल स्क्रिनमा म्युजिक नेपालको विज्ञापन देखे र अचम्ममा परे, कुनै वेभसाइट नखोलेको अबस्थामा कसरी आयो विज्ञापन ?

उनले खोज्दै जाँदा पत्ता लगाए त्यो त कुनै पोर्टलको कुरा नभएर म्युजिक नेपालले सिधै सामसुङ्ग कम्पनीलाई दिएको विज्ञापन मोवाईल स्क्रिनमा देखिएको रहेछ । त्यसमा पनि नेपालका पुराना गीत संगीतको प्रचार गरिएको थियो, जुन म्युजिक नेपालका उत्पादन थिएनन्, रेडियो नेपालबाट चोरीएका गीतहरु थिए । 

‘सामसुङ्ग कम्पनीमा विज्ञापन दिएर पुरना गीतको प्रचार गर्नेको आम्दानी कति होला ? आफै अनुमान गर्नुस्’, उनी प्रश्न गर्छन् ‘अनि त्यसबाट स्रष्टा, सर्जक र उत्पादकले केही पाउनु पर्दैन ?’ 

याे पनि पढ्नुहाेस् : चाेरीका गीत बिक्री प्रकरण : म सरकारी अधिकारी हुन्नथेँ भने म्युजिक नेपालमा आगो लगाउथेँ

अहिले नेपालमा युट्युवको केही कमाई बाहेक सामान्यतया सांगीतिक क्षेत्रलाई पैसा नहुने पेशाको रुपमा हेरीन्छ । तर यी तथ्यहरुले भन्छ – ‘पैसा नहुने होईन, पैसा भएर पनि ठगीने पेशा चाहिँ पक्कै हो ।’ त्यसैले यी रहस्यहरु पत्ता लगाउन सफल भएका संगीतकार लक्ष्मण शेष गीत लेख्ने, संगीत भर्ने, गाउनेहरु बिरामी हुँदा उपचार नपाउने होईन कि गीतसंगीतबाट राज्यलाई कसले धेरै आयकर तिर्‍याे भन्ने समाचार लेखाउने दीर्घकालिन अभियानमा छन् ।

‘३५ वर्ष भयो मैले श्रष्टाका लागि चन्दा माग्नुपरेको, दयानीय अवस्था भएको समाचार पढ्न थालेको’, उनी भन्छन् ‘तर हाम्रो अभियान कुन श्रष्टाले राज्यलाई धेरै आयकर तिर्‍याे भन्ने समाचार लेखाउने र पढाउने तर्फ केन्द्रित हुनेछ ।’

त्यसो त उनी आफैले संगीत भरेका तीन सिनेमा म्युजिक नेपालले विभिन्न 'डिजिटल प्लेटफर्म'मा बिक्री गरिरहेको छ । एक सय भन्दा धेरै चलचित्रमा संगीत भरेका उनका एक हजार भन्दा धेरै गीत पनि म्युजिक नेपालले बेचिरहेको छ ।

‘तर मैले अहिलेसम्म रोयल्टी एकसुकाे पाएको छैन’, उनी भन्छन् ‘यति धेरै कुरा थाहा पाएको पाएको मेरो त अवस्था यस्तो छ भने, थाहै नभएका अन्य कलाकारको अवस्था के होला ?’ 

सांगीतिक क्षेत्रका दलालहरुको बारेमा यति कुरा पत्ता लगाउँदा उनलाई अझ धेरै चित्त दुःखाई के मा छ भने जहाँपनि गीत बेचिन्छन्, पैसा त आउँदैन आउँदैन स्रष्टा सर्जकको नाम समेत आउँदैन ।

‘अब हाम्रो नाम मात्र होइन, कुन ठाउँमा कुन कलाकारको कुन गीत बेचेर कति आम्दानी भयो त्यसको एक एक हिसाब पत्ता लगाउँछौँ’, दृढ संकल्पका साथ उनी भन्छन्, ‘यो अभियानमा मेरा साथीहरुको ठूलो सहयोग छ, आभारी छु ।’ 

४ बर्ष अगाडि

प्रतिक्रिया