ज्ञानेन्द्रका मान्छे विमानस्थलको भीआईपी कक्षमा, डीआईजीको समन्वय !

४ बर्ष अगाडि

गत शनिबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीआईपी) बाहिर एक हूल मानिसको चहलपहल थियो । कोहीको हातमा फूलको बुके थियो भने कसैको हातमा खादा ।
सामान्यतया सुरक्षाको कारण जनाउँदै भीआईपी कक्षबाहिर प्रहरीले सर्वसाधारणलाई जम्मा हुन दिँदैन । तर त्यहाँ आफूलाई गुरु बताउने कालिदास महाराजलाई बिदाइ गर्न उनका अनुयायी भेला भएका थिए । एकैछिनमा कालिदासका निम्ति भीआईपी कक्षको ढोका खोलियो । कालिदासलाई भित्र लैजान एसएसपी रामकृपाल शाह र केही डीएसपीसमेत खटिएका थिए ।
२०७१ साउन ५ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न क–कसले पाउँछन् भनेर स्पष्टमा व्यवस्था छ । जसअनुसार आफूलाई महाराज बताउने कालिदास भीआईपी कक्ष प्रयोग गर्न पाउने सूचीमा पर्दैनन् । कान्तिपुरलाई प्राप्त केही तस्बिर कालिदास भीआईपी कक्ष प्रवेश गरेलगत्तै महानगरी प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेल पनि विमानस्थल पुगेको देखिन्छ ।

स्रोतका अनुसार डीआईजी पोखरेलले कालिदासको भीआईपी कक्ष प्रयोग गर्न समन्वय गरेका थिए ।
दुई श्रीमती विवाह गरेका र बारम्बार अनेकन विवादमा तानिएका कालिदास गणतन्त्र स्थापनापछिका केही वर्ष गुमनाम थिए । जनआन्दोलनअघिसम्म उनी दरबारनिकट थिए । उनी आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको निकट बताउँछन् । राजतन्त्र फेरि फर्कन सक्ने बताउँदै उनले पछिल्लो समय बेलाबखत विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिएको देखिन्छ । ओखलढुंगा घर भएका कालिदास शाहीकालमा हिन्दु राष्ट्र स्थापना गर्ने भन्दै यज्ञ र होम लगाउँदै हिँड्थे । २०६६ सालमा उनले हिन्दु धर्मका विभिन्न खेमाका धर्मभीरुलाई जम्मा पारेर पशुपतिको वनकालीमा सहस्र रुद्रचण्डी अखण्ड महायज्ञ गरेका थिए ।कान्तिपुरमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया