उपसभामुखको चर्चामा राजपा!

४ बर्ष अगाडि

राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का चार सिटका लागि गठबन्धन गरेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र विपक्षी राष्ट्रिय जनता पार्टीबीच सभामुख तथा उपसभामुख निर्वाचनमा पनि अघोषित गठबन्धन देखिएको छ ।

नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटाको उम्मेदवारीमा राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेसँगै उपसभामुख राजपाले पाउने लगभग निश्चित भएको छ ।

राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने र आगामी दिनमा राष्ट्रिय राजनीतिमा छलफल एवं सहकार्य गर्दै अगाडि बढ्ने नेकपा र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच दुई बुँदे सहमतिका कारण नयाँ उपसभामुख राजपाबाटै हुने सम्भावना बढेको हो 


तर, राजपालाई उपसभामुख दिने कि नदिने भन्नेबारे नेकपाले निर्णय गरेको छैन । 

सभामुखमा नेकपा सचिवालयले सापकोटालाई उम्मेदवार बनाए पनि उपसभामुखबारे छलफल नभएको नेकपाले जनाएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले उपसभामुखको बारेमा अहिलेसम्म केही निर्णय गरेका छैनन् ।

 संवैधानिक व्यवस्थाअनुसार एउटै दल र उही लिंगको व्यक्ति सभामुख र उपसभामुख हुन पाउँदैन । त्यसैले, सभामुखमा नेकपाले पुरुष सांसदलाई अघि सारेपछि अन्य दलबाट महिला सांसद उपसभामुख हुने निश्चित छ ।


नेकपाले संसद्भित्र रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा नेपाल वा नेमकिपा र जनमोर्चाबाट उम्मेदवार उठाउन सक्छ । तर, स्रोतका अनुसार नेकपाले उपसभामुख कांग्रेस र समाजवादीलाई दिदैनन् । 

राष्ट्रियसभा निर्वाचनमा राजपासँग दुई बुँदे सहमति गरेको नेकपाले राजपालाई नै उपसभामुख दिएर सरकारमा थप समर्थन लिन सक्ने नेकपा स्रोतको दाबी छ ।राजधानी दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया