पर्यटन बोर्ड चलाउन यती समूहलाई दिने तयारी बिरुद्ध उभियाे उप-समिति

४ बर्ष अगाडि

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को सिफारीस गर्ने उप समितिले हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएको छ । 

सीईओ सिफारीसमा यती समूहका सल्लाहकार बच्चुनारायण श्रेष्ठ नपरको भन्दै सरकारले हस्तक्षेप गरेपछि समितिले हस्तक्षेप नगर्न चेतावनी दिएको हो । 

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, सञ्चालक समिति सदस्यहरू विप्लव पौडेल र कृष्ण बहादुर महरा रहेको छनौट समितिले लोकसेवाको रोहवरमा धनञ्जय रेग्मी, हिक्मत सिंह ऐर र दीपक बस्ताकोटीको नाम सिफारीस गरेको थियो । 

तर सिफारीसमा यती समूहका सल्लाहकार श्रेष्ठ नपरेको भन्दै छनौटका लागि बस्ने भनेको बोर्ड सञ्चालक समितिको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । 

बोर्डको नियमावली २०५५ को दफा १४ अनुसार तीनजनाको नाम सिफारीस गर्नुपर्ने व्यवस्था छ । 

तर माघ २ र ३ गते लिइएको परिक्षा (कार्यपत्र र कार्ययोजना प्रस्तुती) मा अयोग्य भएका श्रेष्ठलाई राख्नका लागि प्रधानमन्त्री कार्यालयले ५ जनाको नाम सिफारीस गर्न भनेको थियो ।  

समितिले नियम मिचेर काम नगर्ने भनेपछि बैठक नै स्थगित गरिएको भन्दै समितिले योग्य मान्छेलाई पाखा लगाएर खल्तीको व्यक्तिलाई कार्यकारी बनाउने मनसाय पुरा हुन नदिने चुनौती दिएको छ । 

‘बोर्डमा राम्रो मान्छेलाई नेतृत्व दिनुपर्छ भन्ने हाम्रो मनसाय हो, तर बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिवले ठाडै लत्याउन खोजेको देखिन्छ’, छनोट उपसमितिका सदस्य कृष्ण बहादुर महराले भने ‘त्यस्तो कुनै मनसाय कुनै पनि हालतमा पूरा हुन दिइनेछैन, यो मेरो ठाडो चुनौती भयो ।’ 

सरकारी जग्गा र सम्पत्ति मनपरी प्रयोग गर्न दिइएको यतीलाई बोर्डको सीईओ बनाएर एकलौटी गर्न दिन सरकार लागि परेको स्रोत बताउँछ । 
बोर्डको आन्तरिक बजेट १ अर्ब १० करोड र नेपाल भ्रमण वर्षको ६५ करोडको बजेटमा छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया