सरकारको ध्यान ठूला विद्युत आयोजनामा, काभ्रे र रामेछापमा २२ मेगावाटका दुई आयोजना बनाइदै

४ बर्ष अगाडि

काठमाडौं – सरकारले अब ठूला क्षमताका जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ । १० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठूला आयोजनालाई जोड दिइएको हो । रामेछाप र काभ्रेको सीमानामा पर्ने जलासययुक्त सुनकोसी–२ र सुनकोसी–३ आयोजनास्थल भ्रमणका लागि आउनुभएका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्यु्त देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बताए । उर्जा क्षेत्रलाई वर्तमान सरकारले मुलुक समृद्धिको महत्वपूर्ण आधार मानेको चर्चा गर्दै मन्त्री पुनले त्यसैअनुसार लगानी गरिने स्पष्ट गरे ।

अपर तामाकोसीदेखि सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३ र कोसी उच्चबाँधमा निर्माण हुने विशाल ड्याम भारतको कलकात्तासँग जोडेर पानीजहाज समेत चलाउन सकिने स्पष्ट गर्नुभयो । ‘कोसीमा निर्माण भइरहेका र भविष्यमा निर्माण गर्न सकिने आयोजनाका कारण ठूलो ड्याम बन्छ । त्यसलाई भारतको कलत्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ’, मन्त्री पुनले भने, ‘त्यसो भयो भने हामी समुन्दख्रमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्छौं ।’ सुनकोसी–२ र ३ को बहुआयामिक महत्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभई स्थानीयको जीवनस्तर माथि उठ्ने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो । आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्बास गराइने प्रतिबद्धता पनि मन्त्री पुनले बताए । 
‘सरकार जनताको अभिभावको हो । जसरी बाबुआमाले छोराछोरीको संरक्षण गर्छन्, सरकारले पनि आफ्ना जनताको संरक्षण गर्छ’ उहाँले भन्नुभयो, ‘अन्यत्रै जसरी दिने गरिएको छ, सुनकोसी–२ र ३ बन्दा सरकारले त्यसरी नै उचित मुआब्जा दिन्छ, स्थानीयलाई रोजगारीमा प्राथमिकता हुन्छ ।’  सुनकोसी–३ को सम्भाव्यता अध्ययन आगामी मंसिरसम्म सकिने र उक्त आयोजना बन्ने निश्चित भइसकेको जानकारी उहाँले दिनुभयो । तर, सुनकोसी–२ को भने अध्ययनको काम जारी रहेकाले अझै भन्न नसकिने उहाँको भनाइ थियो । सुनकोसी–२ मा घनाबस्ती पर्ने र क्षति धेरै हुने भएकाले आयोजना तुलनात्मक रुपले केही महंगो पर्न सक्ने मन्त्री पुनले स्पष्ट गर्नुभयो । ‘सुनकोसी–२ मा धेरै बस्ती र त्यसमा पनि बजार क्षेत्र पर्छ । त्यसकारण सुनकोसी–३ भन्दा केही महंगो पर्न जान्छ’, ‘मन्त्री पुनले भन्नुभयो ‘लगानीभन्दा कम प्रतिफल आउने र घाटा हुने अवस्थामा सरकारले लगानी गर्दैन, तर, मुलुकलाई र स्थानीयलाई पनि फाइदा हुने देखियो भने प्रधानमन्त्री र शीर्ष नेतृत्वसमेत बसेर त्यसबारे निर्णय हुन्छ ।’

सुनकोसी–३ बारे बाँधस्थल लुभुघाट र सुनकोसी–२ का विषयमा सिन्धुली र रामेछापको सीमानामा पर्ने सिन्धुलीको फिकल गाउँपालिका च्याखुटारमा स्थानीयसँग मन्त्री पुनले छुट्टाछुट्टै अन्तरक्रिया पनि गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य गणेश पहाडी र पूर्वउर्जाराज्यमन्त्री एवं नेकपा नेता सूर्यमान दोङले स्थानीयका तर्फबाट आयोजना निर्माणमा अवरोध नभई सहयोग हुने प्रतिबद्धता जनाए । विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहले बंगलादेशले सुनकोसी–३ मा लगानीका लागि इच्छा देखाएको जानकारी दिए ।

सुनकोसी–३ आयोजना

सुनकोसी– ३ को पहिचान तथा प्रारम्भिक अध्ययन जापानी सहयोग नियोग ( जाइका) सन् १९८५ मै गरेको थियो । अध्ययनले सुनकोसी–३ का लागि साविकको मदनकुडारी गाविसको पार्सेल नजिकैबाट १ सय ४० मिटरको बाँध बनाएर ५३६ मेगावाट विद्युत उत्पादन गर्न सकिने औंल्याएको थियो । तर, विद्युत विकास विभागले गरिरहेको पछिल्लो अध्ययनले सुनकोसी–३ बाट ६४० मेगावाट विद्युत उत्पादन हुन सक्ने देखिएको छ । परामर्श दाता कम्पनी चीनको जेभी अफ सांघाई इन्भेष्टिगेशन, डिजाइन एण्ड सिसर्च इन्ष्टिच्युट (सीआइडीआरआई) र नेपालको इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रा.लि. मार्फत २०७४ वैशाखदेखि अध्ययन भइरहेको छ । 
विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहले आगामी मंसिरसम्ममा अध्ययन सकिने जानकारी दिए । अध्ययनले बाँधस्थल लुभुघाटमा सार्दा आयोजना सस्तोमा बन्ने तथा बढी विद्युत उत्पादन हुन सक्ने देखाएको छ । त्यसबाट वार्षिक विद्युत उत्पादन वार्षिक २.४ अर्ब यूनिट हुने सिंहले बताए । आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन (इआइए) समेत सुरु भइसकेको छ ।

सुनकोसी–३ को बाँधस्थल काभ्रेको तिमाल गाउँपालिका लुभुघाट र रामेछापको सोनापाती गाउँपालिकाको सीमामा निर्माण हुन्छ । १ सय ६६ सय मिटर उचाई र ६ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाले जनाएको छ । जलासय करिब ३० किलोमिटर लामो निर्माण हुन्छ ।

आयोजनको विद्युत गृह काभ्रेको तिमाल गाउँपालिका–९ तित्रेटारमा बन्नेछ ।  आयोजनाबाट करिब १ हजार जनसंख्या पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजनाका लागि ४ हजार २ सय हेक्टर जमिन प्रयोग हुन्छ । आयोजनाले काभ्रेको दोलालघाट बजार पूरै डुबानमा पर्छ ।


सुनकोसी–२ आयोजना

सुनकोसी–२ को जडित क्षमता ९५० मेगावाट हो । उक्त आयोजानबाट  सन्धुलीको खुर्कोट र रामेछाप सदरमुकाम मन्थली पूर्णरुपमा डुबानमा पर्छ ।  बाँधस्थल सिन्धुली र रामेछापको सीमानामा पर्ने पुडुलेमा रहनेछ । गजबाट करिब १ सय ६० मिटर उचाई र ४ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाले जनाएको छ । जलासयको लम्बाइ ५३ किलोमिटर लामो । यस्तै ११ सय मिटरको सुरुङ निर्माण गरी च्याखुटारमा विद्युत गृह हुनेछ ।  जलासयको क्षेत्र घर, बस्ती र खोला बगर गरेर ६ हजार ३ सय हेक्टर हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया