कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा घट्दो, ७ खर्ब ५५ अर्ब रेमिट्यान्स भित्रियो

५ बर्ष अगाडि

काठमाडौं–नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा घट्दै गएको एउटा प्रतिवेदनले देखाएको छ । कुल ग्राहस्थ उत्पादनसँग रेमिट्यान्स आप्रवाहको अनुपात घटेर २५.१ प्रतिशतमा झरेको राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तिय अवस्था प्रतिवेदनले देखाएको छ । 
अघिल्लो वर्ष यस्तो अनुपात २६.३ प्रतिशत रहेको थियो । पछिल्लो समय रेमिट्यान्स घट्दै गएपछि कुल ग्राहस्थ उत्पादनमा यसको योगदान पनि घट्दो देखिएको छ । रेमिट्यान्स आप्रवाह ७ खर्ब ५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । रेमिट्यान्स आप्रवाह ८.६ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो बृद्धिदर ४.६ प्रतिशत थियो । यद्यपि, रेमिट्यान्सको खुद ट्रान्सफर आयको बृद्धिदर खुम्चिएको छ । यस्तो आय १.५ प्रतिशतले बढेर ८ खर्ब ६४ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.५ प्रतिशतले बढेको थियो । 
यता वैदेशिक रोजगारमा जाने नेपालीको संख्या पनि घटेको छ । रेमिट्यान्स घट्नुलाई यो पनि कारण मानिन्छ । गत आर्थिक वर्षमा (२०७३÷०७४) श्रम स्विकृति लिएर वैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा गिरावट आएको तथ्यांक वैदेशिक रोजगार विभागसँग छ । अघिल्लो वर्षको तुलनाका गत वर्ष १०.१ प्रतिशतले गिरावट आएको छ । कतार, साउँदी अरब, दक्षिण कोरिया लगायत देशमा श्रमस्विकृति लिएर जाने नेपाली कामदारको संख्या घटेको देखिन्छ ।  मलेसिया, संयुक्त अरब इमिरेट्स, कुवेत लगायतका देशमा भने बढेको देखिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया