जो मृत्युदण्ड छिचोलेर नेपाल फर्किए

४ बर्ष अगाडि

 ‘मलाई बाँचेर नेपाल फर्कन्छु भन्ने थिएन’, १४ वर्ष साउदी जेलमा बिताएर आएका उमेश यादवले पहिलो वाक्यमै भने। मृत्युदण्डको सजाय पाएका उमेश ३० लाख रुपैयाँ ब्लड मनी तिरेर बुधबार नेपाल आइपुगेका हुन्।

यादवलाई पाकिस्तानी सहकर्मी मोहमद लकिफ बसिरको हत्या गरेको आरोपमा साउदी अरबको अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो।

धनुषाका उमेश २५ वर्षको उमेरमा परिवार धान्न समस्या भएका कारण साउदी हानिएका थिए। सन् २००६ मा साउदी पुग्दा उनले लेवर काम पाएका थिए। काम पानीको पाइपलाइनमा थियो। काम गर्न थाले। एक महिना लगभग हुन लागेको थियो। सहकर्मी सिँढीमा चढेर पाइपको काम गर्दै थिए। उनी सहयोग गर्दै थिए। अकस्मात साथी सिँढीबाट झरे। चोट लाग्यो। साथीले उमेशको गल्तीले लडेको आरोप लगाए।

दुईबीच झगडा सुरु भयो। उमेशले रिसको झोकमा फलामको डण्डीले हिर्काए। ‘मलाई पनि यत्तिकै आरोप लगाउँदा रिस उठयो’, उनले भने, ‘झोकमा फलामको डण्डीले हिर्काएँ।’ लकिफ भुइँमा लडे। घटनापछि उमेश भागे। सामान्य चोट लाग्यो होला भन्ने उमेशले सोचेका थिए। तर वास्तविकता त्यस्तो थिएन। घटनाको १७ दिनपछि उमेशलाई पक्राउ गरियो। सहकर्मीको मृत्यु भएको पक्राउ परेपछि उमेशले थाहा पाए। ‘मान्छे मार्ने नै गरेर हानेको थिइनँ’, उनले भने, ‘सामान्य चोट लाग्यो होला भनेको मृत्यु नै भएछ।’

परिवारको अर्थिक अवस्था सबल बनाउन हिँडेका उमेशलाई पुगेको एक महिना मै ठूलो झड्का लाग्यो। उनलाई त्यहाँको प्रहरीले पक्राउ गर्‍यो।

पक्राउ गरेको चार दिनपछि उनलाई त्यहाँको जुबेल सेन्ट्रल जेलमा राखियो। सोधपुछ गरियो। उनले हत्या गरेका थिए। उनको बच्ने कुनै उपाय थिएन।
जेलमा पुगेपछि ‘खुनका बदला खुन’ भन्ने सुने। त्यो सुनेपछि उमेशको हंशले ठाउँ छाड्यो। एकपल्ट परिवार सम्झे। त्यसबेला जीवन अब यहीँ सकियो भन्ने लागेको उनी बताउँछन्। ‘जेलमा खुनका बदला खुन भन्ने सुनेपछि मेरो होस उड्यो,’ उनले भने, ‘मैले त्यतिबेलै नेपाल फर्किन्छु भन्ने आश मारेको थिएँ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया