अब स्नातक उत्तीर्ण हुँदा उद्यमी, उद्यम सफल भएपछि मार्कसिट

४ बर्ष अगाडि

‘हातमा डिग्रीको सर्टिफिकेट छ, तर न सीप न रोजगारी’, धेरै नेपाली शिक्षित युवाको मूख्य समस्या हो यो । 

शिक्षा वैज्ञानिक र ब्यवहारिक नभएको कारण शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखानका रुपमा स्थापित भएको आरोप लाग्ने गरेको छ ।  

यही समस्यालाई मध्यनजर गर्दै उद्योग मन्त्रालयको पहलमा उद्यमी जनशक्ति उत्पादन गर्ने गरी व्यवहारिक शिक्षा शुरु हुने भएको छ ।  

मन्त्रालयको औद्योगिक लगानी तथा प्रवद्र्धन महाशाले युवालाई उद्यमी बनाउने गरी ‘उद्यमशिलता विकास’ अध्ययन गराउने भएको हो ।  

स्नातक तहमा ‘पाईलट प्रोजेक्ट’को पोखरा विश्वविद्यालयमा उद्यमशिलता विकास विषयको अध्यापन शुरु गर्ने तयारी गरेको मन्त्रालयका उपसचिव दिनेशसागर भुसालले बताए ।  ‘अब रोजगारी खोज्ने होईन, रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादन हुनेगरि स्नातक तहमा उद्यमशिलता विषयको अध्ययन गराउने तयारी भएको छ’, उनले भने ‘पाईलट प्रोजेक्टको रुमा पोखरा विश्वविद्यालयबाट यो शैक्षिक कार्यक्रम शुरु हुने छ ।’

नयाँ शैक्षिक कार्यक्रम अनुसार स्नातक तहमा पहिलो वर्ष उद्यमशिलता विषयमा अध्यापन हुने छ । दोश्रो वर्ष ब्यापार योजनाका विषयमा विद्यार्थीले अध्ययन गर्ने छन् भने तेश्रो वर्षमा तेश्रो वर्षमा उद्यमको शुरुवात र चौँथो वर्षमा त्यसबाट प्रतिफल लिने गरि अध्ययनको पाठ्यक्रम निर्माण गरिएको छ । 

अध्ययनको पहिलो वर्ष विद्यार्थीलाई उद्यमशिलताका विषयमा सैद्धान्तिक ज्ञान दिइनुका साथै उद्यमको संभावित विषयमा खोज्न र बुझ्न सक्ने गरि शिक्षा दिइने छ । विद्यार्थीले उद्यमका संभावित क्षेत्रहरुको बारेमा आफै पत्ता लगाउने छन् र योजना बनाउने छन् । दोश्रो वर्षमा ब्यापार विषय अध्ययनपछि विद्यार्थी ब्यापारीक ज्ञान आर्जन गर्न पनि सक्षम हुनेछन् ।  

यसरी विद्यार्थी आफै उद्यमको क्षेत्र पत्ता लगाउन सक्ने र उद्यम गर्न जाकरुक हुने गरी मानसिक रुपमा तयार भएपछि तेश्रो वर्षमा उनीहरुले रोजेको उद्यम गर्न बिउपूँजीको रुपमा निश्चित रकम दिईने छ । 

त्यसबाट उनीहरुले व्यवसाय गर्नेछन् र चौंथो वर्षमा व्यवसायबाट प्रतिफल आउन शुरु गर्छ । सोही सफलताका आधारमा उनीहरुको मूल्यांकन गरि लब्धाङ्कपत्र (मार्कसिट) र सर्टिफिकट उपलब्ध गराईने छ । 

‘सर्टिफिकट सँगै विद्यार्थी कहाँ रोजगारी खोज्ने होला भन्ने होइन की म उद्यमी हो भनेर निस्कन्छ’, मन्त्रालयका उपचिव भुसाल भन्छन्, ‘उद्यमशिलताको राम्रो ज्ञान लिएपछि एउटा व्यवसायमा सफल हुन नसेकपनि अर्को व्यवसाय गरेर सफल हुन्छ ।’

विद्यार्थीलाई अध्ययनसँगै उद्यमी बनाउने योजनाकाका साथ आवस्यक नीति नियम र पाठ्यसामग्रीको काम तयार भइसकेका छन् । पोखरा विश्वविद्यालयले कार्यक्रम शुरु गरेपछि त्यसको त्यसको सफलताको आधारमा त्रिभुवन विश्वविद्यालय लागयत अन्य विश्वविद्यालयमा पनि अध्ययन शुरु गरिने उनको भनाई छ ।  

पहिलो पटक शुरु हुन लागेको उक्त कार्यक्रम अन्तर्गत शुरुमा २५ जना विद्यार्थीले ‘उद्यमशिलता विकास’ विषय पढ्न पाउनेछन् । तेश्रो वर्षमा पुगेपछि उनीहरुलाई उद्यमी बन्नका लागि एकलाख रुपैयाँ अनुदान उपलब्ध गराइने छ । ‘त्यसका लागि यो वर्ष नै २४ लाख ६५ हजार रकम कार्यक्रम शुरु हुने वित्तिकै हामीले विश्वविद्यालयको खातामा रकम राखिदिन्छौँ’, भुसालले भने, ‘आउने वर्षहरुमा पनि रकम उपलब्ध गराएर विद्यार्थी तेश्रो वर्षमा विद्यार्थी पुग्दा अनुदान दिन शुरु गर्छौं ।’

पोखरा विश्वविद्यालयले कुन संकाय अन्तर्गत यसलाई राख्ने भन्ने विषय टुंगो लगाएपछि आगामी शैक्षिक सत्रदेखि कार्यक्रम शुरु गर्ने जनाएको छ । 

मानविकी तथा समाजशास्त्र अन्तर्गत उक्त विषय अध्यापन गराउने भनेर सबै तयारी पुरा भएपनि विश्वविद्यालयमा भिसी र रष्ट्रिार नियुक्त नभएका कारण निर्णय हुन नसकेको सो संकायका प्रमुख सुरेन्द्र तिवारीले बताए । ‘उद्योग मन्त्रालयले कोर्षहरु बनाउने देखि अन्य विषयमा सहयोग गरेर हामी अन्तिम तयारीमा छौँ’, उनले भने, अब निर्णय गर्ने र कार्यान्वयन गर्ने काम मात्र बाँकी छ, भिसी र रजिष्ट्रार नियुक्त हुनेवित्तिकै कार्यक्रम शुरु हुन्छ ।’ 

उनका अनुसार अहिले नयाँ शैक्षिक सत्र शुरु भइसकेकोले अहिले १२ कक्षा अध्ययन गरिरहेका विद्यार्थीले अध्ययन गर्न पाउने गरि कार्यक्रम शुरु हुने जानकारी दिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया