नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव हुँने

४ बर्ष अगाडि

नेपाल भ्रमण वर्र्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।

माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेँसीगाउँमा पर्यटन महोत्सवसँगै अध्यक्ष कप खेलकूद प्रतियोगिता सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविर, रुप्से झरना, अन्धगल्छी, बाजा बजाउने ढुङ्गा, खोप्रा, तातोपानीलगायत गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढाउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो । गाउँपालिकाले पर्यटन विकासको लागि पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्यलाई सँगसँगै अघि बढाएको अध्यक्ष पुनले जानकारी दिए ।

सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रचारप्रसार र सञ्चालनका लागि नारच्याङमा पर्यटन महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको नारच्याङदेखि विश्वकौ दशाँै र नेपालको नवौँ आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग निर्माण भएको छ । 

स्थानीय अन्नपूर्ण युवा क्लबको समन्वयमा महोत्सवस्थलमा पूर्वाधार निर्माण शुरु भएको छ । महोत्सवसँगै वडास्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामूहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको खेलकूद तथा सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिए । 

ती सबै प्रतियोगितामा गाउपालिकाका आठवटै वडाको सहभागिता हुने भएको छ । पुरुष भलिबल र बास्केटबलमा विजेता र उपविजेतालाई ट्रफी, प्रमाणपत्र र मेडलसहित रु ७५ हजार र रु ५० हजार पुरस्कार प्रदान गरिने भएको छ । 

यसैगरी महिला भलिबलको विजेता र उपविजेतालाई ट्रफी, प्रमाणपत्र र मेडलसहित रु ६० हजार र रु ४० हजार तथा प्रौढ भलिबलको विजेता उपविजेतालाई रु ३५ हजार र रु २५ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

सामूहिक नृत्य प्रतियोगिताको विजेतालाई २० र उपविजेतालाई रु १८ हजार तथा एकल नृत्यमा विजेतालाई रु १० हजार र उपविजेतालाई रु छ हजार पुरस्कार दिइने आर्थिक संयोजक आत्मा तुलाचनले जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया