बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

४ बर्ष अगाडि

भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत चौध जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ । विसं २०७४ भदौ १ गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको थियो । 

प्रथम सेवा बिन्दुको रुपमा अस्पतालले  बीमाका बिरामीलाई सेवा दिँदै आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। 

उनका अनुसार स्वास्थ्य बीमा  लागू भएपछि पुसमसान्तसम्ममा ५३ हजार ४३८  बिरामीले बीमाको सुविधा प्राप्त गरेका छन् । तीनै बिरामीले अस्पतालमा दुई लाख ४४ हजार ९४२ पटक सेवा लिएको उनले जानकारी दिए। सबैभन्दा बढी चितवनका बिरामीले सेवा लिएका छन् ।  यसपछि मकवानपुर, तनहुँ र गोर्खा जिल्ला रहेका छन् ।  रोल्पा, रुकुम, पाल्पा, दाङ्, अर्घाखाँची, पर्सा, सिन्धुली, रामेछाप, कास्की र रौतहटका बिरामीले पहिलो सेवा बिन्दु र रेफरल सेवा विन्दुका रुपमा  अस्पतालबाट सेवा लिएको जनाइएको छ ।  

बीमा कार्यक्रमबाट अस्पतालले रु २६ करोड १२ लाख ५२ हजार २५८ प्राप्त गरेको छ । रु आठ करोड  पाउन बाँकी रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले बीमा लागू भएका सरकारी अस्पतालमा भरतपुर अस्पतालको सेवा  उत्कृष्ठ रहेको जानकारी दिनुभयो । स्वास्थ्य बीमा बोर्डले समयमा भूक्तानी नगर्दा सञ्चालनमा कठिनाइ भएको उनले बताए।

बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेलले भरतपुर अस्पतालले धेरै बिरामीलाई सेवा दिएको बताउँदै सेवामा अरु बढी सुधार आवश्यक रहेको बताउनुभयो । जनशक्तिको अभावमा भुक्तानीमा केही ढिलाइ भएको भएको र छिट्टै भुक्तानी गरिने उहाँले जानकारी दिए।  

देशभरका ५० जिल्लाका २५ लाख जनताले स्वास्थ्य बीमा गरेका छन् । देशका सबै जिल्लामा  बीमा कार्यक्रम कार्यान्वयनमा आउँदै छ । विसं २०७२ चैत्र २५ गते कैलालीबाट शुरु भएको बीमा कार्यक्रमअन्तर्गत पछिल्लो पटक यही माघ ७ गते धादिङमा ५०औँ जिल्लाको रुपमा  बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया