भीमदत्त नगरपालिकामा स्वास्थ्य सेवाको पहुँच बढ्दै

४ बर्ष अगाडि

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृमृत्यु दर शून्यमा झरेको छ । 
बालबालिकालाई खोप लगाउने क्रम बढ्दो रुपमा रहेको छ ।

घर घर  पुगेर खोप लगाउने कार्य शुरुआत गरिएपछि लक्ष्यभन्दा बढी खोप लगाइएको केन्द्रका अनमी उर्मिला जोशीले जानकारी दिनुभयो ।  कार्य क्षेत्रभित्र रहेका ८५ प्रतिशत भन्दा माथि बालबालिका खोपको पहुँचमा ल्याइएको उनले दाबि गरेका छन ।

केन्द्रमा वडा नं ६ र ७ का बासिन्दाले आवश्यक स्वास्थ्य सेवा सहज रुपमा पाएका छन् । परिवार नियोजनका साधन मात्रै उपलब्ध हुने केन्द्रमा हाल  ३५ प्रकारका औषधि निःशुल्क रुपमा पाइने गरेको छ । अहिले  केन्द्रमा दैनिक ४० भन्दा बढी स्थानीय बासिन्दा सेवालिन जाने गरेका छन् ।

स्थानीय दानी गिरीले घर नजिकै  स्वास्थ्य सेवा र औषधि उपलब्ध हुँदा सहज भएको बताएका छन ।  यसैगरी शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि वडा नं १७ का बासिन्दाले सामान्य उपचारदेखि सुरक्षित मातृत्व सेवा पाउन थालेका छन ।

 केन्द्रले वडा नं १७ देखि वडा नं ५, ११ र १२ का बासिन्दालाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्रअन्र्तगत चार वटा गाउँ घर क्लीनिक पनि सञ्चालन रहेको छ । 

केन्द्रका अनमी सारदा सिंहका अनुसार एक वर्षको अवधिमै चार हजार ३०० ले सामान्य उपचार सेवा पाएका छन । ती मध्ये ९३२ ज्येष्ठ नागरिकले रहेका छन् ।  

सुरक्षित मातृत्व सेवा ८८  र परिवार नियोजन सेवा ९६६ ले लिएका छन । एक हजार ४२ बालबालिकाले पूर्ण खोप सेवा पाएका छन् । 
भीमदत्त नगरपालिका–१९ मा शहरी स्वास्थ्य केन्द्र भवन रु १६ लाख ५० हजारको लागतमा  निर्माण गरिएको छ । 

भवन निर्माण भएपछि गर्भवती जाँच, खोप र औषधि वितरणको कार्य केन्द्रको भवनबाट हँुदै आएको छ । केन्द्रबाट वडा नं २, १५, १८ र १९ का दैनिक ७० बासिन्दा लाभान्वित हुँदै आएका छन् । 

नगरपालिकाका १९ वटै वडामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्वास्थ्य सेवको पहुँच पुगेको छ । 
नगरपालिकाको वडा नं ९ मा शहरी स्वास्थ्य केन्द्र भवन रु १० लाखको लागतमा निर्माण गरिएको छ ।

 केन्द्रको अर्को भवन रु २५ लाखको लागतमा चालू आवमा निर्माण हुने वडा अध्यक्ष राम नाथले जानकारी दिए । 

 टुँडिखेलमा रहेको गाउँघर क्लीनिक भवन रु १० लाख र खल्लामा रहेको गाउँ घर क्लीनिक भवन रु १२ लाखमा निर्माण गरिएका छन । स्वास्थ्य केन्द्र वडामा नहुँदा विगतमा स्थानीय बासिन्दा उपचारका लागि निकटवर्ती भारतीय बजार टनकपुर जानुपर्दथ्यो । 

 सो वडाको जनसङ्ख्या १० हजार रहेको छ । नगरपालिकाका सबै वडामा सञ्चालनमा रहेका स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूतिका लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल १२ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया